Logo

Student Corner

तेस्रो विश्वयुद्धमा नेपाल

Written by: Himani Bhattarai - 24011, Grade X

Posted on: 19 November, 2021

हाल शक्तिशाली देशहरू विभिन्न होडबाजीमा लागि परेका छन् । उनीहरूबिच विभिन्न शक्ति सङ्घर्ष देखा पर्न थालेका छन्।  कम विकसित राष्ट्रहरू भने विश्वयुद्धबाट निकै त्रसित छन्  । यदि तेस्रो विश्वयुद्ध भयो भने विश्व तहसनहस हुने सम्भावना ज्यादै छ  । 
हुन त युद्ध भन्ने  बित्तकै सबैको मनमा भय उत्पन्न हुन्छ।  युद्धले कसैको पनि भलो  गर्दैन । यो युद्ध भनेको शक्तिशाली देशहरूले कमजोर देशहरूलाई हातहतियार बेच्ने बहाना मात्र हो ।  उनीहरू आफना हातहतियार बेचेर आफू धनी बन्ने र अरूलाई एक अर्कामा भिडाउने काम गर्छन्  । कतिपय राष्ट्रहरूले तेस्रो विश्वयुद्ध नहोस् भन्ने हेतुले शान्ति स्थापना गर्ने कार्य पनि गरिरहेका पनि छन् ।  उदियमान अर्थतन्त्र भएका देशहरूबिच शक्ति सङ्घर्ष र अर्थतन्त्रको होड झन्झन् टड्कारोरूपमा देखिँदै छ । 
पहिलो र दोस्रो विश्वयुद्धमा नेपालले क्षति बेहोर्नु परेको थिएन ।अब तेस्रो विश्वयुद्ध भयो भने नेपाल सुरक्षित रहन सक्ला त ? नेपालको भौगोलिक बनावटले गर्दा केही सुरक्षित रहन  सक्ला तर नेपाल भूपरिवेष्ठित तथा आर्थिकरूपमा कमजाेर राष्ट्र भएको हुनाले नेपालले कुन देशको समर्थन गर्छ त्यसमा भरपर्छ । हुन त नेपालका छिमेकी दुई ठुला राष्ट्रहरू भारत र चीनको बिचमा अवस्थित छ । भारत र चीनको वैमनस्य रहेसम्म नेपाल असुरक्षित नै रहन्छ । अहिले चीन विश्वको शक्तिशाली देश बन्दै गइरहेको छ । अमेरिका, बेलायत, रुस, जर्मन, उत्तर कोरिया र जापान जस्ता देशहरू शक्तिको होडमा छन् । 
नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिअनुसार  पहिलो र दोस्रो विश्वयुद्धमा नेपालले बेलायतलाई सहयोग  गरेको थियो । भारत स्वतन्त्र भएपछि सुगौली सन्धि स्वतः खारेज भइसकेको छ । अब नेपालले बेलायतलाई सहयोग गर्ने त पक्कै छैन तर आफू कसरी सुरक्षित रहने भन्ने चिन्ताको विषय बन्न सक्छ । यदि तेस्रो विश्वयुद्ध भयो भने नेपालले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गर्नुपर्छ । यदि यसो गर्ने हो भने मात्र नेपाल सुरक्षित रहन सक्छ र यो नै नेपालको लागि फाइदा बन्न सक्छ।