Logo

Student Corner

लैङ्गिक समानता

Written by: Diya Shrestha - 22032, Grade XII

Posted on: 17 November, 2021

लैङ्गिक' विशेषण पदले नारी र पुरुष सम्बन्धी भन्ने अर्थ बुझाउँछ भने 'समानता' नाम पदले नारी र पुरुषले गरेका वा गर्न सक्ने कार्यमा बराबर भूमिका अथवा कर्तव्य र अधिकारमा हुने समान पहुँच भन्ने बुझिन्छ । नारी र पुरुषलाई जन्मँदाखेरि प्रकृतिले नै भिन्न किसिमका अपरिवर्तननीय जैविक विशेषताहरू प्रदान गरेको हुन्छ । प्रकृतिले नै नारी र पुरुषका रूपमा वर्गीकृत गरी मान्छेलाई जन्म दिने गर्छ । प्रकृतिप्रदत्त जैविक भिन्नताकै आधारमा व्यवहारहरू सञ्चालित हुने गर्दछन् । प्रकृतिले प्रदान गरेको जैविक विभेदलाई परिवर्तन गर्न सकिन्न तर समाजमा जन्मिसकेपछि नारी र पुरुषका बिचमा समाजले नै तिनलाई जुन भूमिका प्रदान गर्दछ, त्यसैमा लैङ्गिक भेद देखिन्छ । त्यसैले लैङ्गिक भेद सिर्जना गर्ने काम समाजले गरेको हुन्छ ।

लैङ्गिक भेदले समाजमा नराम्रो असर पारेको छ, त्यसैले लैङ्गिक समानताका नाराहरू आज चर्को रूपमा उठ्न थालेका छन् । लैङ्गिक समानता भए मात्र परिवार, समाज र राष्ट्रको समुन्नति हुन सक्ने कुरामा जोड दिन थालिएको छ । वास्तवमा लैङ्गिक समानतासँग लैङ्गिक समता हुनु पनि त्यतिकै वाञ्छनीय देखिन्छ । कानुन, संविधान र नीतिनियमहरूमा तथा तिनका धारा र दफाहरूमा नारी र पुरुषबिचमा असमान व्यवहार नगर्ने भनी उल्लेख हुनु लैङ्गिक समानता हो भने नैसर्गिक, भावनात्मक र व्यावसायिक रूपले नारी र पुरुषका बिच न्याय, निष्पक्षता वा उचित व्यवहार देखाउनु लैङ्गिक समानता हो । ऐन, कानुनमा उल्लेख भए पनि त्यसलाई भावनात्मक र व्यावसायिक रूपले व्यवहारमा नउतारुन्जेल लैङ्गिक समताको कल्पना गर्न सकिन्न ।

लैङ्गिक समानताका माध्यमबाट नारी जातिप्रति गरिने भेदभाव देखाउने ऐन, कानुन यद्यपि छँदै छन् । हाम्रो देशको कानुनमा नारी र पुरुष दुवै जातका मनिसलाई समान व्यहार गर्नुपर्छ भन्ने नियम बनाइएको छ र यदि यो नियम जनताले उल्लङ्घन गरेमा सजायकाे पनि व्यवस्था गरिएकाे छ, त्यसैले हामीले नारी भएर आफ्नो हकका लागि अवाज उठाउन सक्याैँ भने देशका मानिसको सोच बदलिन्छ । सामाजिक व्यवहरमा पनि छोरी र छोराका बिच गरिने भेद स्पष्ट देख्न सकिन्छ ।

अत: लैङ्गिक समानता नभएसम्म नारीले भेदभावको सिकार बन्नुपर्ने हुन्छ । लैङ्गिक समानताका लागि सर्वप्रथम नारीहरूलाई अबला, अदना र कमजोर ठान्ने मनोवैज्ञानिक त्रुटिलाई सच्याउनुपर्छ। शिक्षाको अवसर समान हुनुपर्छ । समाजमा लैङ्गिक विभेदको औचित्यबारे चेतना जगाउने, आयआर्जनका अवसरहरू प्रदान गर्ने, घर परिवारमा लैङ्गिक मैत्री वातावरण कायम गर्नेजस्ता कर्महरू गर्न सके र तदनुरूपको आचरण तथा व्यवहारमा रूपान्तरित गरेमा लैङ्गिक समानता समाजमा कायम हुन सक्ने कुरामा द्विविधा रहन्न ।