Logo

Student Corner

दसैँ र विवाह

Written by: Sohana Ale Magar - 25016, Grade IX

Posted on: 15 November, 2021

नवरात्रभर मनाइने दसैैँको पहिलो दिन घटस्थापना हो । यो दिन मेरो निकै रमाइलो गरी बित्यो । यस दिन म बिहान चाँडै उठेर हातमुख धोएपछि मामुले भन्नुभयो, “ल अब तयार हुनु नत्र ढिलो हुन्छ ” । म मामुको कुरा सुनेर अचम्मित भएँ कता जाने कहाँ जाने कति बेला जाने? मलाई मामुले पहिल्यै केही भन्नुभएको थिएन । मैले सोधेँ, “कहाँ जाने मामु ” ? उहाँले भन्नुभयो, “मामाको बिहेमा जाने हो ; त्यसैले मैले छिटो तयार हो भनेकी ” नि ! मामाको बिहेमा जाने भनेपछि राम्रैसँग सिङ्गारपटार गरियो । अनि मामाघरतर्फ लागियो।

मामाघर पुग्दा म निकै उत्साही थिएँ । त्यहाँ पुगेपछि म निकै नै खुसी भएँ । धेरै वर्षपछि मैले प्यारा साथीहरू दाइदिदीहरूलाई भेटेकी थिएँ । कोरोना महामारीका कारण ठुली आमा सानीमा मामामाइजू कसैसँग पनि भेट नभएको धेरै समय भएको थियो । एक आपसमा सन्चो बिसन्चो सोधपुछपछि हामीले चिया नास्ता खायौँ । उतातिर मामा तयार हुँदै हुनुहुन्थ्यो । मामा तयार भएपछि सबै जन्ती गाडीमा बसेर पार्टी प्यालेसतिर लाग्यौँ । उतातिर पनि भव्य तयारी थियो । बेहुला र जन्तीको पर्खाइमा बसेका बेहुली पक्षकाले हामी गएपछि जन्ती पर्छिए  । अनि हामी फोटो खिच्न र टिकटक बनाउन थाल्यौँ र बनायौँ पनि । नाचगान पनि राम्रै चल्यो । हामी पनि नाच्यौँ । अनि विवाहमण्डपको काम सकियो । अनि मामाघर फर्किने बेलाभयो । अन्मिने बेलामा माइजू खुब रुनुभयो । माइतीघर घर छोडेर पराइघर जानुपर्दा सारै दुःख लागे जस्तो थियो ।
मामाघर आएपछि फेरि नाचगान चल्यो । सबै जना नाच्न थाले खुबै रमाइलो भयो। हल्का खाना खाएपछि सुत्यौँ । भोलिपल्ट मामाघरमा नै खसी काटेर विवाहको  भव्य पार्टी भयो । विवाहमा धेरै निम्तालु आएका थिए । मामा माइजूलाई शुभकामना दिनेहरूको भिड नै लाग्यो । हामी त उही टिकटक बनाउन र फोटो खिच्न मै व्यस्त रह्याैँ । करिब दुई वर्षको अवधिमा यो निकै रमाइलो समय थियो । बेलुकासम्म नै पाहुनाहरूको आउने जाने क्रम चलिरह्यो । त्यसपछि हामी सुत्यौँ । अर्काे दिन हामी घर गयौँ र दुई तीन दिनको थकाइ मार्‍यौँ । बेलुका पख ममी दसैँको सामान किन्न बाहिर निस्कनुभयो । भोलिपल्ट दसैँ भएकाले बेलुका छिटै सुत्यौँ । दशमीका दिन बिहान आफ्नो कामधन्दा सकिएपछि टीकाको साइतमा  आफूभन्दा ठुलाका हातबाट टीका र जमरा लगायौँ । मिठामिठा खानेकुरा खायौँ । घरमा टीका लगाएपछि आफन्त र नातागोताको घर गएर टीका लगायौँ । यसरी रमाइलो गरी यसवर्षको दसैँ मनाइयाे ।