Logo

Student Corner

यसपालीको दसैँ

Written by: Joya Shrestha - 25004, Grade IX

Posted on: 12 November, 2021

दसैँनेपालीहरूको प्रमुख चाड हाे । राष्ट्रिय चाडसमेत मानिने दसैँ हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दसाैँ दिन बिहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गर्छन् । आश्विन  प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरी मनाउने प्रचलन रहेको छ ।  विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाउने चलन छ । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले पूर्णिमासम्म दसैँमनाउने गरिन्छ। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
हाम्रो यसपालीको दसैँ विगतका वर्षहरू जस्तो भएन । यसवर्ष हामीले हजुरबुबालाई सम्झ्यौ मात्र । अहिलेको दसैँमा आमाबाबाले जमरा राख्न नहुने हुनाले हामी दिदीबहिनी मिलेर जमरा राख्यौँ । यसपटक हामी कतै टीका लगाउन गएनौं । आमाबाबाले टीका लगाउन र लगाइदिन नहुने हुनाले सबैभन्दा ठुली दिदीले टीका लगाइदिनुभयो । हामीले दिदीको हातबाट टीका र जमरा लगायौँ । मामाघरमा त टीका थियो तर हामीलाई जान मन लागेन र गएनौँ । घरमै बस्यौं । मिठामिठा खाने कुरा आफैँ बनाएर खायौँ । दसैँमा हाम्रो १५ दिन विद्यालय बिदा थियो। दसैँ मनायौँ तर मनमा कुनै खुसी थिएन । न त चङ्गा उडाउन नै मन लाग्यो । न त पिङ खेल्न नै ।
समग्रमा वि. सं . २०७८ सालको दसैँ उल्लासमय भएन। हजुरबुबा नै नभएपछि दसैँ रमाइलो हुने कुरै भएन । यस वर्ष यस्तै भए पनि अर्को वर्ष रमाइलो नै होला भन्ने आश गरेकी छु । अर्को वर्ष बाबाआमाले टीका  लगाइदिनुहोला अनि घरमा टीका लगाएर मामाघर पनि जाऔँला रमाइला गरौँला ।