Logo

Student Corner

नेपालमा विद्यार्थी जीवन

Written by: Purab Marahatta - 23034, Grade XI

Posted on: 11 November, 2021

हामी सबैजनाको विद्यार्थी जीवन आइसकेको छ । विद्यार्थी जीवन भनेको हाम्रो जीवनको एकदम महत्त्वपूर्ण समय हो । हामीले विद्यार्थी जीवनमै हो सबै कुरा सिक्ने र भविष्यमा प्रयोग गर्ने । विद्यार्थी जीवन हाम्रो सानो उमेरदेखि सुरु हुन्छ । मेरो चाहिँ विद्यार्थी जीवनको सुरुवात पाँच वर्षदेखि भएको हो । विद्यार्थी जीवनमा हामीले पाउने भनेको शिक्षा हो । भनिन्छ नि शिक्षा भनेको अहिलेको समाजको ठूलो हतियार हो । यही भएर पनि होला हामी सबैजनाले शिक्षा लिइरहेका छाैँ । शिक्षा लिने धेरै माध्यमहरू छन्, जस्तैः विद्यालय गएर, अनलाइनबाट पढेर, आफूभन्दा ठुला वा साना मान्छेबाट सिकेर आदि तर मैले चाहिँ विद्यालयमै गएर शिक्षा अध्ययन गरिरहेको छु । 

हाम्रो देश नेपालमा धेरे मानिसहरूले अझै शिक्षा पाएका छैनन् । याे सरकारको असफलता हो । केही मानिसले पढ्न पाएका छैनन् भने केही मानिसले पढाइको महत्त्व नै थाहा पाएका छैनन् । मलाई लाग्छ, यो सरकारको ठुलाे असफलता हो किनकि सरकारले शिक्षा क्षेत्रलाई गम्भीरतापूर्वक लिएकै छैन । उदाहरणका लागि धेरै पहिला दुर्गम ठाउँहरूमा शौचालय थिएन । सरकारले नै शौचालय नभएकाहरूलाई सुविधा नदिने भनेकाले अहिले सबैको घरमा शौचालय छ तर हाम्रो सरकारले शिक्षाको क्षेत्रमा त्यस्तो गरेन । त्यही भएर मलाई लाग्छ यो सरकारकै असफलता हो तर सरकारलाई मात्रै दोष दिएर कहाँ हुन्छ र ? सरकारले गाउँमा शिक्षा दिने धेरै माध्यमहरू बनाएकाे छ, जस्तै; हाजिरी गरेमा भत्ता दिने, विद्यार्थीलाई स्कुलमा पूर्ण हाजिरी भो भने बधाई कार्यक्रममा पुरस्कार दिने आदि थुप्रै कामहरू गरेकाे छ । हामी चाहिँ कक्षा नर्सरीदेखि पढाइ अध्ययन गर्छन् र जहाँसम्म पढ्न सक्छाैँ, त्यहाँसम्म पढ्छाैँ । विद्यार्थीहरू पहिला विद्यालय जान्छन् अनि क्याम्पस जान्छन् अनि विश्वविद्यालय जान्छन् र विद्यार्थी जीवनको एउटा मात्र लक्ष्य छ, त्यो हो पढ्ने । 

हामी विद्यालय गएपछि हाम्रो देउता भनेका, हाम्रा मार्गदर्शकहरू भनेका हाम्रा गुरुहरू हुनुहुन्छ । सबै गुरुहरूको इच्छा भनेकाे आफ्ना विद्यार्थीले राम्रो गरुन् र आफ्नो जीवन एकदम राम्रो र उज्ज्वल बनाउन सकुन् भन्ने नै हाे । गुरुहरूकाे आफ्ना छात्राछात्रहरू असल मानिस बनेको देख्ने चाहना हुन्छ । केही चाहना पुरा गर्नलाई शिक्षकले मार्ग देखाउनुहुन्छ । विद्यार्थीहरूले आफ्ना विद्यालय, कलेज र विश्वविद्यालयमा कसरी पढ्ने ? कसरी खेल्ने ? कसरी यो समाजमा आफूलाई चिनाउन सक्ने ? कसरी असल मानिस बन्ने ? जस्ता धेरै कुरा सिक्न पाउँछन् । गुरुहरूले आफ्ना विद्यार्थीहरू कुलतमा फसेको थाहा पाएमा उनीहरूलाई कुलतबाट निस्किन एकदम ठूलो मद्दत गर्नुहुन्छ र शिक्षकले कसरी हामी सहयोगी बन्न सक्छाैँ भनेर पनि सिकाउनुहुन्छ । शिक्षकले हामीले के गर्नुपर्छ भनेर पनि सिकाउनुहुन्छ । शिक्षकले हामीले कसरी हाम्रो जीवन राम्रो बनाउन सक्छाैँ भनेर पनि सिकाउनुहुन्छ । 

अब हामीले नै हो हाम्रो देश बनाउने र हाम्रो देशलाई अगाडि बढाउने । अहिले हामीले शिक्षा पाएका छाैँ, पछि हामी हाम्रो नेपालका दुर्गम ठाउँहरूमा भएका मानिसलाई पनि शिक्षा प्रदान गर्न सक्ने हुनुपर्छ । शिक्षाले नै हामी सबैलाई राम्रो र नराम्रो बाटो चिन्न सक्ने  र गलत र सहीको फरक  छुट्ट्याउन सक्ने बनाउँछ, त्यसैले हामीले सबैलाई शिक्षा दिनुपर्छ । हाम्रो यो अहिलेको समाज बदल्नु छ भने सबैलाई पढलेख गराई राम्रो बनाउनुपर्छ । अहिले हामी अरू मुलुकभन्दा पछाडि परेका छाैँ । अब हामीले हाम्रो शिक्षा व्यवस्था बदलेर हाम्रो देशलाई सबैभन्दा अगाडि ल्याउनु सक्नुपर्छ तर प्रश्न छ हामीले याे गर्न सक्छाैँ त ?