Logo

Student Corner

बाल हिंसा

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 11 November, 2021

बालबालिकाहरूमाथि  गरिने शोषण, यौनदुर्व्यवहार मानसिक तथा शारीरिक पीडा नै बालहिंसा हो । बालहिंसा एउटा सामाजिक समस्या हो । बालहिंसाले बालबालिकाहरूको वृद्धि, विकाश र क्षमतामा प्रत्यक्षरूपमा बाधा पुर्‍याउँछ ।
नेपाल जस्तो अल्पविकसित देशमा बालबालिकाहरू हिंसाको प्रत्यक्ष मारमा परेको कुरा विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएका छन् । गरिबी र रोजगारीको प्रत्यक्ष मारमा परेका नेपालीहरू गाँस, बास र कपासको लागि कलिलै उमेरमा आफ्ना बालबालिकाहरूलाई घरलु कामदारका रूपमा राख्न बाध्य भएका छन् । कतिपय अवस्थामा अरूको प्रलोभन तथा बहकाउमा लागेर पनि बालबालिकाहरू बालहिंसाको शिकार भएका छन् । शारीरिक हिंसा, मनोवैज्ञानिक हिंसाका शिकार भएका बालबालिकाहरूको मस्तिष्कमा नराम्रो असर पर्छ । जसकारण उनीहरू कुनै पनि काममा अग्रसर हुन सक्दैनन् । नेतृत्व लिन हिचकिचाउँछन् । आफूले कुनै काम गर्दा त्यसको परिणाम सकारात्मकभन्दा नकारात्मक बढी आउने र त्यसबाट झन् पीडाबोध हुन्छ कि भन्ने नकारात्मक सोचाइ उनीहरूमा पैदा हुन्छ । आफ्ना व्यक्तिगत कुराहरू अरूसामु प्रस्तुत गर्न डर मान्ने, हिचकिचाउने समस्याका कारण उनीहरू सधैँ पछि पर्छन् । शारीरिक तथा मनोवैज्ञानिक हिंसाले बालबालिकाहरूलाई प्रत्यक्ष तथा परोक्ष असर गरिरहेको हुन्छ । आफ्नै घरपरिवारका सदस्यले मादक पदार्थ आदि सेवन गरी कुटपिट गर्ने र आफ्नो नियन्त्रण राख्ने जस्ता कार्य गरेको पनि हामी सुन्दै आइरहेका छौँ । नेपालको संविधान २०७२ अन्तर्गत बाल अधिकार कानुन बनाए पनि त्यसको पूर्णरूपमा पालना भएको देखिएको छैन । अनुगमन प्रभावकारीरूपमा हुन नसक्दा भोलिका देशका कर्णधार भनिएका बालबालिका हिंसाको मारमा परिरहेका छन् । 
बाल हिंसामा संलग्न अपराधीलाई कडाभन्दा कानुन बनाएर राज्यले  सजाय दिनुपर्छ । सबैले छोरा र छोरीमा गरिने भेदभावको पनि अन्त्य गर्नुपर्छ । बालबालिकाहरू नै राष्ट्र विकाशका संवाहक हुन्  भन्ने कुरा बुझ्नु जरुरि छ।