Logo

Student Corner

राजनीति, अन्ततः राजनीति

Written by: Anukrama Poudyal - 22031, Grade XII

Posted on: 10 November, 2021

पृथ्वी नारायण साहको एक औँला जसले सङ्केत दिन्छ एकताको । महान् भक्ति थापा, कालु पाण्डे, धर्मभक्त माथेमा, पासाङ ल्हामु सेर्पा, अमरसिंह थापा, बलभद्र कुंवर आदि वीर योद्धाहरूको नाम सुन्दै शरीरमा जोसको रगतले हाम्रो इतिहासको सम्झना दिन्छ । 

जीवनमा खुसी मात्रै हुन्न, दुःख पनि हुन्छ भने जस्तै नेपाली राजनीतिमा वा नेपालको इतिहासमा पनि राम्रा कुराका साथै नराम्रा कुराका बादलहरू पनि पछ्याउँदै आइरहे । नेपालको राजनीतिको इतिहासमा सुनौला दिनहरू पनि धेरै रहे, जस्तैः वीर गोर्खालीहरूले आफ्नो वीरताले देशको रक्षा गरेका दिनहरू र दुःखका दिनहरू पनि धेरै रहे, जस्तैः जनताका प्रिय राजा वीरेन्द्रको हत्याकाण्ड भएकाजस्ता दुःखद दिनहरू । 

नेपालको अहिलेको राजनीतिको पनि दुवै राम्रा र नराम्रा पक्षहरू छन् । नराम्रा कुराबाट सुरु गर्नुपर्दा यहाँ जबो कुर्सी र सत्ताको नाममा राजा नै मारिन्छ भने त्यही सत्ता र कुर्सीको मोहमा करोडौँ निर्दोष आम जनताको जनआन्दोलनका नाममा घाँटी रेटिन्छ। यहाँ त्यही सत्ताको खेलमा ती लालची नेताहरू दिनहुँ कारोडौँ निर्मला पन्तजस्ता देशका छाेरीहरू बलात्कृत हुँदा पनि मौन बस्छन् ।

भन्ने गर्छन् नि, "जब पर्यो राती, अनि बुढी ताती ।", हो, यो उखान हाम्रो देशका नेता र सरकारी कर्मचारीहरूका लागि एकदम ठिक हुने गर्दछ । जब साउनको दोस्रो हप्ता लाग्न थाल्छ, तब मात्रै बजेट सक्नतिर उनीहरू लाग्छन् । वर्षभरि बनाउनु नपर्ने बाटो उनीहरूलाई प्रायः वर्षा याममा मात्रै बनाउन याद आउँछ, जसले गर्दा त्यो बनेको बाटो एक वर्ष त के छ महिनामै गिट्टी र बालुवा छुट्याउन सकिने हुन्छ । यस्तो महामारीको बेलामा पनि कर असुल्नको लागि बिन्दास लकडाउन खोलिन्छ अनि आफ्नो स्वार्थ पुरा भएपछि छोटो सूचनामा नै निषेधाज्ञा घाेषणा गरिन्छ ।

हाम्रा महान् नेताहरूको त जति बयान गर्यो त्यति कम हुन्छ । बुढापाकाले भन्ने गर्थे, "नेपाल सतीले सरापेको देश हाे रे ।", त्यसैकाे असर होला सायद जसको प्रभाव प्रत्यक्ष रूपमा नेपालको राजनीतिमा देख्न सकिन्छ । यहाँ कुर्सीकै मोहले गर्दा कहिले राम्रो काम गर्नेहरूको नाममा दाग लगाउने काम हुन्छ र जनतामाझ तिनीहरूलाई निचा देखाउने काम हुन्छ भने कहिले अरूले गरेको कामको जस आफूले लिन खोज्ने काम हुन्छ । यहाँ नेता र उनीहरूका झोलेहरूको मात्रै पेट भरिन्छ भने हामीजस्ता गरिब आम जनता भोकै नाङ्गै सडकमा माग्दै हिँड्न बाध्य पारिन्छन् ।

तर सबै दोष यी नेताहरूलाई दिन भने मिल्दैन किनभने हामी आम जनता पनि केही कम छैनौँ । जाबो दुई टुक्रा मासु र एक चुस्की रक्सीको मातमा हामी हाम्रो बहुमूल्य भोट तिनै कुर्सीधारी व्यक्तिहरूलाई दिन्छौँ । त्यसैले राजनीतिक दलहरू जति दोषी छन्, नेपालको राजनीतिको दुर्गतिका लागि त्यति नै हामी आम जनता पनि दोषी छौँ । हाम्रो राष्ट्रमा ठुलो सङ्ख्यामा रहेका मानिसहरू, जस्तैः ठुला व्यापारीहरूदेखि सरकारी कर्मचारीलगायतका हामी सबै यसबाट लाभ उठाइरहेका छौँ र हामी सबै अलिकति भएपनि दोषी छौँ ।

शासन व्यवस्था सुचारु हुने कडी नै राजनीति हो । असल मार्गमा डोरिएको राजनीतिले देशलाई समृद्ध बनाई त्यहाँका नागरिकको जीवनशैलीलाई सहज बनाइदिन्छ । त्यही राजनीति गलत दिशातर्फ उन्मुख भयो भने त्यसले देखाउने रूप हामीले विश्वका आन्तरिक गृहयुद्धमा फसेका सोमालिया, सुडान, सिरियाजस्ता मुलुकहरूमा देख्न सक्छाैँ ।

तसर्थ, राजनीति स्वयंमा नराम्रो होइन, जस्तो हामीमध्ये धेरैलाई अझै लाग्ने गर्छ । यसका संवाहकहरू, जो आफूलाई जनताको प्रतिनिधिको रूपमा प्रस्तुत गर्छन्, उनीहरूको नियत, काम गर्ने तौरतरिका आदिले देशको भविष्य निर्धारण गर्दछ। "राजनीति" शब्दलाई बद्नाम गराउने नेतामा दूरदर्शीताको अभाव भएको देखियो । दुर्भाग्य, राजनीतिले "राजनेता" जन्माउनु पर्नेमा सो हुन नसकेकोले आजकाे हाम्राे पुस्ता राजनीतिलाई मात्रै एउटा "फोहोरी खेल" को रूपमा मात्रै बुझ्न बाध्य भयाे ।