Logo

Student Corner

दोस्रो लकडाउन पछिको विद्यालय

Written by: Anushka Basnet - 24001, Grade X

Posted on: 10 November, 2021

घुम्दै फिर्दै कोरोनाले दोस्रो घुम्ती बनाएपछि पहिले जस्तै लकडाउन भएकाले कथा र व्यथा पुरानै दोहोरिए । कोरोनाको सङ्क्रमण दर केही कम भएपछि सरकारले स्थानीय निकायको समन्वयमा विद्यालय खोल्न सकिने सूचना निकाल्यो । वि.सं. २०७८ असोज ८ गते हाम्रो विद्यालयले पनि भौतिक रूपमा पठनपाठन गराउने  निर्णय गर्‍यो।
करिब ६ महिनापछि विद्यालय आउँदा मलाई कताकता डर लागेको थियो । विद्यालय आउन खासै मन पनि लागेको थिएन । पहिलो दिन त हामीलाई दिइएको समयभन्दा निकै अबेर गाडी आएकाले मन अत्तालिएको थियो । म विद्यालय पुग्दा मेरा कक्षाका साथीहरू पढ्दै थिए । भर्चुअल कक्षा लिँदा लिँदा भौतिक कक्षा अनौठो लागेको थियो।
अहिले विद्यालयमा भौतिक कक्षाहरू सञ्चालन भइरहेका छन् । छुट्टै उत्साह थपिएको छ । घरमा बसेर पढ्दा दैनिक तीन / चार ओटा मात्र विषय लिइन्थ्यो भने अहिले आठ ओटा विषय पढ्न पाइएको छ । विद्यालयमा साथीहरूसँग खाली समयमा खेल्न पनि पाइएको छ । घरमा बस्दा बस्दा अत्यास लागेको समय अहिले निकै रमाइलोसँग बितिरहेको छ । अब बिहानदेखि बेलुकासम्म डिभाइसको स्क्रिन हेर्नुपरेको छैन । विद्यालयको हरियाली वातावरण,खेल मैदान र चमेना गृहमा रमाउँदा निकै खुसी लागेको छ ।
दैनिकी सामान्य जस्तै भएको छ तर कोरोना पूर्ण रूपमा हराएको छैन । विद्यालयमा सुरक्षा सावधानी पूर्ण रूपमा अपनाइको छ । हामीले पनि पूर्ण रूपमा सुरक्षा सावधानीका नियम पालना गरेका छौँ । अब कोरोनाले पुनः विद्यालय बन्द नहोस् । फेरि घरभित्रै थुनिएर बस्नु नपरोस् ।