Logo

Student Corner

कहाँ गए ती दिन ?

Written by: Safal Gautam - 22016, Grade XII

Posted on: 29 October, 2021

अझै पनि मोबाइल खोल्दा देख्दछु म ती पलका तस्बिर, जसले दिन्छन् मलाई त्याे बेलाका भावना र सम्झना । हेर्दै जाँदा देखा पर्छन्, मैले बिर्सेको ती पलहरू जाे त्यति रमाइला नभए पनि मेरो मुहारमा मुस्कान ल्याउने गर्दछन् तिनले । ती योजनाहरू, जुन हामीले बनाएका थियाैँ कक्षा १० सकिएपछिका लागि, जुन मात्र सपना भएर गए ।    

त्यो विद्यालयको शौचालयमा लुकी लुकी गफ गर्ने हाम्रो बानी, ५-१० मिनेटको ब्रेक पाइने बेलामा बास्केटबल लिएर खेल्न दगुरिहाल्ने हाम्रो त्यो चन्चले बानी र कक्षाको बिच बिचमा पानी भर्ने भनी १०-२० मिनेट नै त्यो पानी भर्ने ठाउँमा बस्ने हाम्रो बानी अझै याद आउँछन् मलाई ।

कक्षाकाे पछाडि बसी चाउचाउ र कुरकुरे लुकेर खाने पनि त्यति बेला मिसन इम्पाेसिबल जस्तै लाग्दथ्यो । तातो पानी भन्दै जाडो महिनामा फलामको बोतलमा कोक र डिउ हालेर चिसो हावामा चिसो जुस खानुको मज्जै अर्को । 

अझै याद छ त्यो बिहानको कक्षा, जुन हुने गर्दथ्यो १० कक्षाभरि, त्यो बेला जब बस छुट्यो भन्दै ढिला हिँड्दै विद्यालय जाने गर्दथ्यौँ हामी साथीभाइ । केही कार्यक्रम हुन आँटेको थाहा पाउनेबित्तिकै कक्षा लिन मन नलागेर १ महिनाअगाडिदेखि नै योजना गर्ने हाम्रो त्यो बिन्ती, याद आउँछ मलाई ।

घर जान मन नलागेर ‘हामी त्यो कार्यक्रमका लागि तयारी गरिरहेका छौँ’ भन्दै बहाना बनाएर बेलुकी ७-८ बजेसम्म विद्यालय बसेको याद आउँछ मलाई । कतिपय बेला गितार ल्याउँदा ‘लन्च ब्रेक’ मा गीत गएर समय बिताएको त्याे मिठाे पलकाे सम्झना आउँछ मलाई ।