Written by: Samip Aryal - 25014, Grade IX
Posted on: 29 October, 2021
कुनै एउटा ठुलो जङ्गलमा धेरै जनावरहरूको बसोबास थियो । सबैले बाँचनको लागि निकै सङ्घर्ष गरिरहेका थिए । भेटेसम्म र पाएसम्म एकले अर्कालाई निलुँला जस्तै गर्थे । सबैलाई आफूमा भएको तागतको निकै घमण्ड थियो । सकेसम्म एकले अर्काको अस्तित्व स्वीकार गर्दैनथे । यति हुँदाहुदै पनि सबैले सिंहलाई जङ्गलको राजा मानेका थिए । सिंह अरूभन्दा आफू निकै शक्तिशाली भएकाले सबैले आफूलाई राजा मान्न लगाएको थियो। तर अरू जनावरलाई सिंह राजा भएको मन परेको थिएन । “यो सिंह निकै घमण्डी छ। आफूलाई जे मन लाग्यो त्यही गर्छ " भनेर एक आपसमा कुरा गरिरहन्थे ।
एक दिन जङ्गलका सिंह बाहेकका सबै जनावरहरू भेला भए । स्यालले भन्यो, “अब सिंहलाई राजा मान्न सकिदैन । कुनै जुक्ति लगाएर सिंहलाई जङ्गलको राजाबाट हटाउनुपर्छ” । स्यालको कुरामा सबै सहमत भए । सिंहले सबैलाई दु:ख दिएको थियो । खरायोले भन्यो, “ एक दिन सबै पौडी खेल्न जाऔं ; अनि जो पौडीमा प्रथम हुन्छ त्यो नै जङ्गलको राजा हुन्छ भनौँ । सिंहलाई पौडिन आउँदैन अनि त्यो मर्छ र हामी ढुक्कले बसौंला” । खरायोको कुरामा सबै सहमत भए । अर्को दिन सिंहलाई पनि बोलाएर सबै भेला भए र आफूले सल्लाह गरेअनुसारको सबै कुरा सुनाए । सिंह पनि यो कुरामा पछि हट्न सकेन । भोलिपल्ट सबै पौडी खेल्न जाने निधो गरे । पौडी खेल्न जम्मा भएपछि सबैभन्दा पहिले कसले पौडी खेल्ने ? भन्ने कुरा भयो । स्यालले “पहिले म पौडी खेल्छु” भन्यो। स्याल छिटो छरितो भएकाले राम्ररी पौडियो । स्यालपछि खरायो पनि पौडियो । त्यसपछि सिंहको पालो थियो । पहिले सिंह डराएको थियो तर खरायो र स्याल पौडिएको देखेपछि म पनि सजिलै पौडी खेल्न सक्छु भन्ने लाग्यो र हाम फाल्यो । नदी निकै गहिरो थियो । नदीमा डुबेपछि सिंह माथि उठ्न सकेन । हेर्दा हेर्दै सिंहको त्यही मृत्यु भयो । अब अरू जनावर पौडी खेलेनन् ।
सिंहको मृत्यु भएपछि जङ्गलको राजा कोही पनि भएन । सबै ढुक्कले बस्न थाले । सबैको एक अर्कामा राम्रो मिलाप हुन थाल्यो । सबै जनावरहरूले सिंहले दिएको दु:खको कुरा गर्थे। अब हामीले सिंहले जस्तो घमन्ड गर्नु हुँदैन । हामी सबै एकै हौँ भनेर सुखका दिन बिताउन थाले ।