Logo

Student Corner

परिवारको माया

Written by: Simone Shree Pathak - 24006, Grade X

Posted on: 05 October, 2021

रमेश कक्षा १० को विद्यालयको नाम कहलिएको विद्यार्थी हो । उसलाई साथीहरू मात्र नभएर शिक्षक शिक्षिका पनि  राम्ररी चिन्थे । ऊ असल कामलेभन्दा पनि खराब कामले प्रख्यात थियो । सकेसम्म अरूलाई दुःख दिने सताउने काममा ऊ अग्रपङ्क्ति मै हुन्थ्यो । पढाइ लेखाइभन्दा पनि उसका दिनचर्या यस्ता काममा व्यतीत हुन्थे ।
रमेशको यस्तो स्वभाव देखेर विद्यालयका शिक्षक शिक्षिका निकै चिन्तित थिए । उसलाई भने आफ्नो भविष्यको कुनै चिन्ता थिएन । विद्यालयले पनि पटक-पटक उसका आमाबुबालाई उसका आनीबानी चालचलनबारे जानकारी गराएका थिए । रोमा रमेशको नेपाली शिक्षक थिइन् । उनले धेरै पटक रमेशलाई एकान्तमा सम्झाउने प्रयास गर्थिन् तर उसले कहिले पनि गम्भीररूपमा लिँदैनथ्यो ।
एक दिनको कुरा हो ;  विद्यालय बिदा भएपछि रोमा पनि आफ्नो घरतिर लागिन् । बाटोमा दुई जना मानिसहरूले रमेशलाई कुट्दै गरेको देखिन् । रोमाले हत्तपत्त रमेशलाई कुटाइ खानबाट जोगाइन्। रमेशलाई कुट्ने उसका अभिभावक नै रहेछन् । रोमा आफ्नो घरतिर लागिन् । घर पुगेर पनि रोमाले त्यो दृश्य बिर्सन सकिनन् । भोलिपल्ट विद्यालयमा रमेश उपस्थित थिएन । रोमाले रमेशको अनुपस्थिति जान्न खोजिन् । उसको घर गइन् । घरमा कोही पनि थिएनन् । रोमा निराश हुँदै फर्किन् ।
अर्को दिन रमेश विद्यालय आयो । रोमाले रमेशलाई आफ्नो कार्यकक्षामा बोलाइन् । ऊसँग धेरै बेर कुरा गरिन् । रमेशले रोमालाई आफ्ना सबै पीडा पोख्यो । रमेश आफ्ना अभिभावकबाट घरेलु हिंसाको शिकार भएको रहेछ । अब रोमाले रमेश किन यस्तो भएको भन्ने सबै कुरा बुझिन् । उनले रमेशका अभिभावकमाथि बालहिंसा गरेको उजुरी गरिन् । कानुनअनुसार उसका अभिभावकलाई सजाय पनि भयो ।

रोमाले रमेशलाई आफ्नो घरमा ल्याइन् र आफ्नो सन्तान जसरी पालिन् । अब रमेशको व्यवहार र जीवनमा निकै परिवर्तन आएको छ । रमेशले परिवारको माया पाएको छ । अहिले रमेश एम . बि . बि . एस . को तयारी गर्दै छ ।