Logo

Student Corner

मेरो दैनिकी

Written by: Niharika Shrestha - 22022, Grade XII

Posted on: 24 September, 2021

दिन कहिले एकदम राम्रो गरी बित्छ र कहिले एकदम नराम्रो गरी पनि बित्छ । मेरो दिनचर्या त्यस्तो केही विशेष नभए पनि रमाइलो नै गरी बित्छ । बिहान उठ्नेबित्तिकै सकरात्मक सोच राखेर दिन सुरु गर्यो भने दिनभरिको काम सबै राम्रो हुन्छ र रमाइलो पनि लाग्छ । त्यसैले म उठ्ने बित्तिकै सधैँ केही राम्रा शब्दहरू दिमागमा राखेर दिन सुरु गर्छु । 
 
म यति बजे उठ्छु भन्ने त्यस्तो ठ्याक्क समय त छैन, तर सकेसम्म छिटो उठ्ने कोसिस गर्छु । दिन राम्रो हुनका लागि हाम्रो उठ्ने समयमा पनि एकदमै भर पर्दो रहेछ । छिटो उठ्दा एकदमै प्रेरित हुने रहेछ । टन्नै कामहरू गर्न मन लाग्छ र अल्छी पनि लाग्दैन, तर ढिलो उठ्दा दिनभरि नै केही काम राम्ररी गर्न सकिँदैन । एकदम अल्छी पनि लाग्दो रहेछ । त्यसैले म ६-७ बजे सम्म उठ्ने कोसिस गर्छु । हातमुख धोएर म ओच्छ्यान मिलाउँछु । मेराे बिहानको पहिलो काम भनेकै आफू सुतेको ओच्छ्यान मिलाउने हो । यो राम्रा बानीहरूमध्ये एक हो । त्यसपछि म सिधै भान्सामा जान्छु र बिहानको खाजा खानुअगाडि एक गिलास तातो पानी पिउँछु । उठ्नेबित्तिकै त मलाई भोक लाग्दैन, त्यसैले म योग र ध्यान गर्ने कोसिस गर्छु । बानी नै त भएको छैन तर सकेसम्म १० मिनेट भए पनि गर्न खोज्छु ।
 
 त्यसपछि म घरमा केही सामान चाहिएको छ भने किन्न जान्छु अनि मात्र बिहानको खाजा खान्छु । मेरो घरमा बिरुवाहरू छन् र बिहान म ती बिरुवाहरूलाई पानी दिन्छु र घाममा पनि राख्छु । यताउता गर्दा गर्दै ९:३० हुन्छ र अनलाइन कक्षा सुरु हुन्छ । दुईवटा कक्षा लिएपछि म ११:५० मा खाना खान्छु।  त्यसपछि अझै २० मिनेट जति समय बाँकी हुन्छ र म त्यो समयमा फोन चलाउन थाल्छु । कि इन्स्टाग्राम कि युट्युब एकैछिन चलाउँछु । फोन चलाउँदा चलाउँदै १२:५० हुन्छ र फेरि अर्को कक्षा सुरु हुन्छ । मज्जाले ३ वटा कक्षा पढेपछि खाजा खान्छु । कक्षा सकिएपछि म एकछिन आराम गर्छु । कहिले फोन चलाउँछु कि त टिभी हेर्छु । 
 
त्यसपछि ६ बजेतिर म कौसीमा गएर एकैछिन हावा खान्छु । दिनभरि ल्यापटप हेरेर आँखा नै दुख्छ, त्यही भएर त्यो चिसो हावाले दिमाग नै आनन्दित बनाइदिन्छ।  त्यसपछि म कोठामा आएर १-२ घण्टा जति पढ्छु कि त गृहकार्य छ भने त्यसलाई पुरा गर्छु । कक्षमा पढाइएका कुराहरू दोहोर्याएर हेर्छु । पढ्दा पढ्दै बेलुकाको खाना खाने बेला हुन्छ । ५:३० बजेतिर खाना खाएर फेरि पढ्न बाँकी छ भने पढ्छु । त्यसपछि म आमाबुबासँग समय बिताउँछु । हामी कहिले गफगाफ गर्छौं कि त कहिले सँगै बसेर फिल्म हेर्छौं । सुत्नुअगाडि म अर्को दिनको लागि कार्यतालिका बनाउँछु र मेरो डायरीमा पुरा दिनभरिका सम्झनाहरू लेख्छु । त्यसपछि एकछिन फोन चलाउँछु र ११-११:३० बजेसम्म सुत्ने कोसिस गर्छु । 
 
यसरी नै मेरा दिनहरू बित्छन् । कहिलेकाहीँ एकदम अल्छी लाग्ने हुन्छ र कहिलेकाहीँ एकदम रमाइलो पनि हुन्छ । शारीरिक रूपमा कलेज जान परेको भए दिन नै बेग्लै गरी बित्थ्यो होला तर आहिले अनलाइन कक्षा भएर मेरो दिन धेरैजसाे यसरी नै बित्छ ।