Logo

Student Corner

झरीका दिन

Written by: Ojeshwi Gurung - 23029, Grade XI

Posted on: 24 September, 2021

                                    
नरोकिन घेरै समय वा दिनसम्म  पानी परिरहने बेलालाई झरी भनिन्छ । झमझम पानी पर्ने  वा घेरै वर्षा हुने दिनहरू नै झरीका दिन हुन् । यसलाई अर्को शब्दमा बर्खायाम तथा मनसुन पनि भन्न सकिन्छ । नेपालकाे सन्दर्भमा भन्दा असारदेखि भदौ महिनासम्मका दिनलाई  झरीका दिनहरूका रूपमा लिन सकिन्छ । 

चर्को घामले समस्त जीवन-जगत्‌लाई पोलेर अत्याउनु गर्मीयामको विशेषता हो भने सेतै हिउँ, तुषारो, ठन्डी,  ठिही र मुटु कमाउने जाडो शिशिरयामका विशेषता हुन् । मेघको गर्जन र बिजुलीको चम्काइबिना झमझम पानी पर्ने  झरीका दिनहरूलाई  विभिन्न व्यक्तिले आआफ्नै किसिमले लिने गर्छन् । वर्षान्तमा झरी पर्नु प्राकृतिक विशेषता नै हो । झरीका दिनहरूमा निकै पानी पर्छ । नेपालजस्तो भौगोलिक विशेषता भएको मुलुकका लागि निकै दिन लगातार झरी पर्दा प्राकृतिक प्रकोपको सम्भावना पनि त्यतिकै रहन्छ । पहिरोका साथै ठुला नदीहरूमा पानीकाे मात्रा बढ्न गई ती नदीका आसपासका इलाकामा बाढीको प्रकोप भएर धेरै उर्वर खेतका फाँटहरू र कतिपय बस्तीसमेत मारमा पारेको देखिन्छ । 

रोपाइँ गर्ने किसानहरूका लागि झरीका दिनहरू निकै रोमाञ्चक, आनन्ददायक र रमणीय हुन्छन् । यस अवधिलाई नेपालका सबैजसो किसानहरू खेतका आली र डिल ताछेर, खेत खेनजोत गरी धानको ब्याड राखेर कहिले झरी पर्ला र रोपाइँ  थालौँला भन्ने प्रतीक्षा गरेर बसेका देखिन्छन् । उनीहरूको यो समय मुठी रोपेर मुरी उब्जाउनका लागि रोपाइँ गर्ने समय हो । अझ नदी तथा अन्य कुनै स्रोतबाट सिँचाइको सुविधा नपुगेका खेतमा त किसानहरूका लागि झरीका दिनहरू अन्नपूर्णाकै वरदान साबित हुन्छन् ।