Logo

Student Corner

प्रेम पत्र

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 24 September, 2021

काजल र कार्तिक सानैदेखिका मिल्ने साथी थिए। उनीहरूले एउटै विद्यालयबाट एस.इ.इ पास गरेका थिए । कलेज ११ र १२ पनि एउटै विद्यालयमा पढेका थिए। उनीहरूबिच घनिष्ट मित्रता थियो । ३ कक्षामा भेट भएका यी दुवैले एक अर्कासँग धेरै समय बिताउँथे। स्नातक चाहिँ काजलले नेपालमा नै पूरा गर्ने निर्णय गरी भने कार्तिकले विदेश गएर पढ्ने निधो गर्यो । जीवनको ९ वर्षसम्म नछुट्टिएका ती दुई साथीहरूले अब ४-५ वर्षका लागि एक अर्काबाट छुट्टिनै पर्ने अवस्था आयो। दुवैले एक दिनमा एकचोटि भने भिडियो कल गर्ने वाचा गरे । नेपालमा बाँकी रहेका केही दिन उनीहरूले एकअर्कासँगै बिताए। त्यसपछि कार्तिक आफ्नो स्नातक तहका लागि बेलायत गयो । सुरुका केही महिना त उनीहरूले हरेक दिन एकअर्कालाई भिडियो कल गरेर आफूले दिनभरि गरेका कुराहरू बताउँथे । दिन प्रतिदिन कार्तिकको काम बढ्दै गयो र उनीहरूको बोलिचाली कम हुँदै जान थाल्यो। पहिलेका ती लामा भिडियो कलहरू केवल केही छोटा मेसेजहरूमा परिणत हुन थाले । यसैबिचमा काजलले कार्तिकप्रति आफ्ना भावनाहरू विकास गर्न थाली । उसलाई कार्तिक साथीभन्दा बढी मन पर्न थाल्यो । आफ्नो मनका भावना भनेपछि त्यस्तो राम्रो मित्रता टुट्ने  पो हो कि भन्ने कुरा उसको मनमा खेल्न थाल्यो । केही समयपछि भने जेसुकै होस् भनेर उसले आफ्नो मनमा रहेकाे कुरा कार्तिकलाई भनेरै छाेड्ने निर्णय लिई । भावना व्यक्त गर्नका लागि उसले एउटा प्रेम पत्र लेखेर पठाउने विचार गरी ।

प्यारो कार्तिक,
तिमीलाई धेरै धेरै माया र मिठाे सम्झना 

तिमी अहिले थोरै चकित हुन सक्छौ । सधैँ मेसेज पठाउने साथीले आज किन पत्र पठाइछे भन्ने प्रश्न दिमागमा आएको होला । आज म तिमीलाई जे कुरा भन्न गइरहेकी छु त्यो कुरा मलाई फाेन वा मेसेज गरेर बताउन मन लागेन त्यसैले यो पत्र राम्रोसँग पढ। बिस्तारै पत्र पढेपछि सबै कुरा थाहा पाउँछौ । म यो पत्रलाई त्यति लामो भने बनाउँदिन । जे जति भन्नु छ सरासर भन्छु।

तिमी विदेश गएको पनि ७ महिना जति भएछ । तिम्रो याद त मलाई असाध्यै आउँछ। बाल्यकालका ती पलहरू मलाई अहिलेसम्म पनि याद छ । कति रमाइला थिए ती पलहरू। त्यही समयमा फेरि फर्किन पाए हुन्थ्यो नि हगि  ? यी सबै दु:ख र पीडाबाट टाढा । जसले जेसुकै भने पनि मतलब नलाग्ने त्यो समयमा फर्किन पाए कत्ति रमाइलो हुन्थ्यो । तर के गर्नु एउटा समय आएपछि धेरै बदलाव आउँदो रहेछ । जीवनका ९ वर्ष सँगै बिताएका कारण होला, तिमीविना मलाई एकदमै एक्लो महसुस हुन्छ, आजकाल ।  घरमा पनि अवस्था त्यति राम्रो छैन । यस्तो आपतको घडीमा तिमी मेरो साथमा भएको भए मलाई एकदमै सजिलो हुन्थ्यो भन्ने जस्तो लाग्न थालेको छ । तिमी पनि उता काम गर्दै पढिरहेका छौ । निकै गाह्रो छ तिम्रो लागि सबै कुरा सँगै सम्हाल्न । हरेक दिन तिमीलाई थकित देख्दा मेरो मन एकदमै दु:खी हुन थालेको छ । मलाई यो के भैरहेको छ भन्ने कुरा यसरी बुझाउन आउँदैन त्यसैले तलको कविताले मेरो मनको भावना बुझाइदिएको छ । कविता पढेपछि मैले के भन्न खोजेको हो तिमीले पक्कै पनि बुझ्ने छौ । मलाई अहिले नै जवाफ भने चाहिँदैन। म आशा छु कि यो कुराले हामीबिचको मित्रतामा केही असर पु-याउने छैन ।

तिम्रा ती काला आँखाले मेरो मनकाे भावनालाई भरिदिन्छ 
तिम्रो त्यो सुन्दर मुस्कानले मेरो संसारमा उज्यालो छरिदिन्छ।
सधैँभरि तिम्रै अङ्गालोमा न्यानो भएर बसिरहुँ जस्तो लाग्छ
भनिदेऊ न तिमी, के माया भनेको यही नै हो रहेछ त ?

मेरो मनले तिमीलाई सधैँ नजिक राख्न चाहिरहन्छ
तिमी नजिक नहुँदा मेरो मन विचलित भइरहन्छ ।
तिम्रो मिठो बोलीवचन मलाई हरपल सुनिरहुँ जस्तो लाग्छ 
भनिदेऊ न तिमी, के माया भनेको यही नै हो रहेछ त ?
 
तिमी दु:खमा पर्दा मेरो मन कति खिन्न हुन्छ
तिम्रो ओठमा मुस्कान देख्दा मेरो मन पनि प्रफुल्ल हुन्छ।
तिम्रा लागि आफ्नो ज्यानसम्म सुम्पिदिउँ जस्तो लाग्छ 
भनिदेऊ न तिमी, के माया भनेको यही नै हो रहेछ त ?

तिम्री प्यारी साथी,
काजल