Logo

Student Corner

कथाः चमेलीकाे बास्ना

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 24 September, 2021

परिचय
चमेलीको बास्ना रामबाबु सुवेदीले लेखेका हुन् । चमेलीको बास्नाको चित्रकार के. के. कर्माचार्य हुन् । यस कथाको प्रकाशन नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी भक्तपुरले गरेको हो । चमेलीको बास्ना कथामा सुनको बास्ना हुँदैन र सुनको पछाडि लाग्नु हुँदैन भन्ने कुराहरुको बारेमा चर्चा गरिएको छ । यो कथाले हामीलाई साथीहरुलाई बिना कारण शङ्का गर्नु हुँदैन र सुनको पछि लागेर आफ्नो नियमित कामहरु नगरि बस्नु हुँदैन भन्ने शिक्षा पनि दिन्छ ।

पात्र (असल पात्र र खराब पात्र)
चमेलीको बास्ना कथाको मुख्य पात्र चमेली हो । यस कथाका अरु पात्रहरु चमेलीका बाआमा, चम्पा, सोहन, नयनतारा, गुरुआमा, अलका, सुनार, विद्यालयका सबै केटाकेटी, कोपिला, तिलजा, चित्रकलाका गुरु, शकबहादुर, चमेलीका अरु साथीहरु, प्रधानाध्यापक हुन् । चमेली यस कथाको मुख्य पात्र हो जो धनी बाआमाको एक्ली छोरी थिई । ​ऊ एकदमै पुलपुलिएकी थिई र उसले भनेको सबै मान्नै पर्थ्यो । ​ऊ सुनको पछी लगेर खेलकुदमा पनि पछी पर्न थाली र कक्षामा पनि पछिल्तिर बस्न थाली । ऊ कथाको सुरुमा खराब पात्रको रुपमा देखाइएको छ र प्रधानाध्यापकले सम्झाएपछी ऊ असल पात्रको रुपमा देखाइएको छ । उसलाई सुनको पछी लाग्नु  हुँदैन भनेर प्रधानाध्यापकले भनेपछी उसलाई गहिरो प्रभाव पर्‍यो र उसले सुनलाई चोडेर खुशी हुँदै विद्यालय गई । अरु सबै पात्रहरु सहायक पात्रका रुपमा आएका छन् । चमेलीका सबै साथीहरु असल पात्र हुन् जसले उसको बास्ना मन पराउछन । यस कथामा खराब पात्र कोही छैनन् ।

कथावस्तु
चमेली धनी बाआमाकी एक्ली छोरी थिई र कक्षा तीनमा पढ्थी । एकदिन चमेलीकी आमाले आफुसँग भएको गहना चमेलीलाई देखाउनुभयो र नाम पनि बताउनुभयो । उसले आमको शिरफूल सुटुक्क झिकेर विद्यालय लगाएर गई । चमेलीका साथी चम्पा र सोहन उसको शिरमा शिरफूल देखेर अचम्म भए । विद्यालयमा सबैले उसैलाई हेर्न र उसैको कुरा गर्न थाले । कक्षामा अलकाले उसको दिदीको धेरै गरगहना भएको र चमेलीको एउटा मात्र शिरफूल त्यो पनि आमाको भनेर भनी ।  आमाले चमेलीले शिरफूल लगाएको देख्नुभयो र कति  सुहाएको भन्नुभयो । उसले गहना लगाउदा राम्रो देखिँदो रहेछ भन्ने थाहा पाई र आमालाई औँठी, कल्ली, झुम्का, शिरफूल र फुली बनाइदिन भनी । चमेली ज्यादै पुलपुलिएकी छोरी थिई र उसले भनेको पुर्‍याउनै पर्थ्यो । त्यसैले उसलाई लिएर आमा सुनारकहाँ जानुभयो । भोलिपल्ट सुनार दाईले सबै गहना बनाएर ल्याइदिनुभयो र चमेली ती गहनाहरु लगाएर विद्यालयतिर लागी । दिउँसो खाजा खाने समयमा सबै केटाकेटी चमेलीको वरिपरि झुम्मिए र ऊ दङ्ग परी । चमेली, अलका र तिलजा घर फर्किँदा पानी पर्दै थियो र रातो माटोमा चिप्लेर चमेलीको शिरफूल कुचियो । तिलजाले धकेलेको भनेर चमेली ऊसँग रिसाई तर ऊ आफैँ लडेकी थिई । नुहाउन जाँदा गहना फुकालेर राख्दा कल्लीले शिरफूललाई किचेछ । शिरफूल छिनेको देखेर ऊ कल्लीलाई कराउन थाली र त्यो दिन विद्यालय गइन सुनारकहाँ शिरफूल बनाउन गई । अर्को दिन कक्षामा उसको झुम्का हरायो र उसले आफ्ना मिल्ने साथीहरुमाथि शङ्का गर्न थाली । अर्को दिन काँडे बालाले बुलाकी चुँडालिदिएछ र ऊ सुनारकहाँ बनाउन गई र विद्यालय छुट्यो । चित्रकलाका गुरुले चमेलीको चित्र बनाउन लाउनु भयो । तिलजाले बनाएको चित्रमा उसको हात सिक्रीले बाँधिएको जस्तो देखियो भने शुकबहादुरले बनाएको चित्रमा चमेलीको खुट्टा सिक्रीले बाँधिएको देखियो । त्यो चित्रहरु देखेर ऊ छक्क परी तर गुरुलाई भने त्यो चित्रहरु मन पर्‍यो । दिन बित्दै जाँदा साथीहरु चमेलीबाट टाढा भई । खाजा खाने समयमा पनि ऊ एक्लै बसेर डाँडतिर हेरेर टोलाइरहन्थी । प्रधानअध्यापकले चमेलीलाई पढाईमा पहिला हुने र खेल्कुदमा पनि तेज थियौ र सुनको पछी लाग्यौ भन्नुभयो । सुनको बास्ना हुँदैन भनेर प्रधानअध्यापकले भनेपछी ऊसुनारकहाँ गएर सुनलाई पगालेर डल्लो बनाइदिन भनि । ऊ खुशी हुँदै विद्यालय गई र साथीहरुले उसलाई अँगालो हाले । चमेली साँच्चैको चमेली भएर आएको भनेर प्रधानअध्यापकले भन्नुभयो र साथीहरुले पनि रमाउँदै ताली पिटे । कक्षाकोठामा चमेलीले सहपाठी साथीहरुलाई सुन्दर सन्देश लेखी र पाटीमा टाँसी ।

परिवेश
चमेली को बास्ना कथामा चमेली को घर, विद्यालय जाने बाटो, विद्यालय, गहना बनाउन सुनारको घर स्थलगत परिवेशको रुपमा आएको छ । यो कथामा भएको सबै घटना एक महिनमा घटेको अनुमान गर्न सकिन्छ ।

निष्कर्ष (सिफारिस)
म यो पुस्तकलाई सिफारिस गर्छु किनभने यो पुस्तकले हामीलाई सुनको बास्नाको पछी लाग्नु हुँदैन भन्ने शिक्षा दिन्छ । हामीले अरुलाई नभएको कुरामा शङ्का गर्नु हुँदैन भन्ने पनि सिकाउँछ ।