Logo

Student Corner

आइतबारको बिहान

Written by: Ishan Raj Upadhyay - 22008, Grade XII

Posted on: 23 September, 2021

आइतबारको बिहान भएसँगै मलाई केही सातादेखि फुटसल भनेर याद आउँछ । लगभग ३ साताअघिको कुरा हो । शनिबार र आइतबार हाम्रो विद्यालय बिदा हुन्छ । त्यो शनिबार पनि अन्य शनिबारजस्तै चलचित्र हेरेर लगभग बिहानको ३ बजेतिर निदाको थिएँ । सुतेको मात्र के थिएँ, मेरो फोनमा मेरो साथी अधितले फोन गर्यो । ३ बजे त निदाएको थिएँ, पहिलेको २, ३ फोनको त मेसो नै पाइनँ । केही समयपछि फेरि फोन आयो अनि एक्कासि उठेँ । निद्राकै सुरमा थिएँ । आँखा मिच्दै हेलाे मात्र के भनेको थिएँ, उताबाट फुर्तीका साथ "ओइ आज फुटसल आउँदैनस् ? १० बजेको खेल छ" भनेर भन्यो । निकै नै ढिलो सुतेको हुनाले शरीरमा त्यति फुर्ती पनि थिएन । "ह्या ! आजका लागि होस्, अरू कुनै दिन जाने" भन्दै फोन काट्नै लागेको थिएँ तर एक्कासि एक मनले भन्याे, "हिँड् इशान ! धेरै भयो नखेलेको पनि, उसै त लकडाउनले गर्दा मोटाएको छस्, कति बस्छस् घरमै ?" अनि निद्रा माया माररेर उठेँ । १० बजेको समय दिइएको हुनाले म घरबाट आफ्नो फुटसल ब्याग बोकेर ९ बजे हिँडेँ ।  साथीहरू र हाम्रा गुरुबाहरू पनि आइसक्नुभएको रहेछ।   

निकै दिनपछि खेल्ने मौका पाउँदा म निकै उत्साहित थिएँ । हामी दुईओटा टिममा छुट्टियाैँ शिक्षक र विद्यार्थी खेल्ने निधो भएपछि हाम्रो खेल सुरु भयो ।  सुरवात त दुवैतिरबाट राम्रै भएको थियो तर खेलसँगै हामी गेम बाट खस्किदै गयौँ । १ गोलले पछि हुँदा हुँदै ११ गोलले हामी पछाडि पर्यौं । 
 
जति पछि परे पनि हामीले हार चाहिँ मानिसकेका थिएनौँ । १ घण्टा खेल्ने भनेर आएको हुँदा हुँदै १ बाट २ र २ बाट साढे २ घण्टा भइसकेको थियाे ।  हामी ११ गोलले पछाडि भए पनि हिम्मत नहारेको हुँदा हामीले गाेल अन्तर १ गोलसम्म ल्ययाैँ तर अन्तिममा गएर १ गोलले पराजित हुनुपर्यो ।
 
खेलमा हार र जित त भइहाल्छ तर धेरै पछि घरबाट निस्किएर खेल्न पाउँदा भिन्दै रमाइलो लग्यो । हामी कोरोनले गर्दा घरमै कैद थियौँ । यो महामारीका कारण सबै दिनचर्या ठप्प नै भइसकेको थियो तर कोरोन सङ्क्रमण अलि कम भएसँगै मान्छेहरू आफ्नो दिनचर्यामा लाग्ने, घुम्ने, खेल्नेजस्ता कार्यमा फर्किएका छन् । यस्तो समयमा खेलकुद, योग वा अन्य कुरा गरेर आफ्नो शरीरलाई स्वस्थ राख्नु निकै जरुरी छ । धेरै समयपछि भएर होला मलाई त्यो दिन निकै रमाइलो लग्यो ।