Logo

Student Corner

तिज

Written by: Deepti Neupane - 23019, Grade XI

Posted on: 23 September, 2021

नेपाल एउटा हिन्दू राष्ट्र हो, जहाँ धेरै चाडपर्वहरू मनाइन्छन् । हिन्दू महिलाहरूको महान् चाड तिज हो । तिज भदौको शुक्लपक्षको तृतीयाको दिनमा मनाइन्छ । यस दिन महिलाहरूले गीतका माध्ययमबाट आफ्नाे मनभित्रकाे वेदना पाेख्ने गर्दछन् । आफूलाई परेका दुखहरू सबै गीतमार्फत् भन्दछन् । 
तिजको दिनमा नारीहरूले व्रत बस्छन् । तिजको व्रत पहिलेदेखि चलिआएको परम्परा हो । विवाहित महिलाले श्रीमान्‌काे सुस्वाथ्य र दीर्घायुको कामनाका लागि र अविवाहित महिलाले राम्रो श्रीमान् पाऊँ भनी व्रत बस्छन् । यस दिनमा महिलाहरूले दुध, फलफूल आदि खान्छन् । यस दिन महिलाहरूले रातो सारी, टीका, चुरा, धागो आदि लगाउँछन् । यस चाडमा नाचगान धेरै हुन्छ । कोही मन्दिरमा नाच्छन्, त कोही घरमा । पहिलेका र अहिलेका तिजगीतमा धेरै भिन्नता छ । कसैले तिजको गीतमा हिपहप गीत हालेका छन् भने कसैले नराम्रा शब्द हालेका छन् । हाम्रो परम्पराअनुसर तिजकाे गीत सबैको मन छुने र नाच्न मिल्ने खालको हुनुपर्छ । याे दिन सबै दिदीबहिनीको भेटघाट हुन्छ र आफ्नो सुखदुख साटासाट  गरेर रमाइलोसँग तिज मनाउँछन् । तिजको दिन पशुपतिनाथ मन्दिरमा सबैभन्दा बढी जाने गरिन्छ । मन्दिरमा शिवजीलाई पूजा गरिन्छ र धेरैजसो जुन मन्दिरमा पूजा गरिन्छ, त्यही मन्दिरमा नै नाचगान हुन्छ । 
तिज तीन दिनसम्म मनाइन्छ । पहिलो दिन हो दर खाने दिन, दोस्रो हो व्रत बस्ने दिन र तेस्रो हो ऋषि पञ्चमी । सहरमा दर खाने दिनमा सबै महिलाहरू एउटा ठाउँमा जम्मा हुन्छन्, दर खान्छन् र एकअर्कालाई चुरा, टीका, पोते, लुगा आदि दिन्छन् । व्रत बस्ने दिनमा महिलाहरूले दिनभरि अन्न खाँदैनन् र पानी पिउँदैनन् तर अविवाहित नारीहरूले भने फलफूल खान्छन् र पानी पिउँछन् । 
ऋषि पञ्चमीको दिन महिलाहरू बिहानै उठेर नुहाउँछन् र आफ्नो दाँत दतिउनले सफा गर्छन् । सहरमा खोला सफा हुँदैन, त्यसैले उनीहरू आफ्नो घरमै नुहाउँछन् भने गाउँतिर नजिकको खोलामा गएर नुहाउँछन् । त्यसपछि उनीहरूले पूजा गर्छन् अनि खाना खान्छन् । 
नेपालमा तिज तीन दिन मनाइन्छ तर अरू देशमा यस्तो हुँदैन, फरक हुन्छ । हामीले हाम्रो परम्परालाई भुल्नु हुँदैन र यससम्बन्धी चेतना फैलाउनुपर्छ । हामीले तिजगीतको सही उपयोग गर्नुपर्छ, सही शब्द र भाव प्रयोग गर्नुपर्छ ।