Logo

Student Corner

पुस्तक समीक्षा: अमेरिका उपन्यास

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 20 September, 2021

 विषय प्रवेश
“अमेरिका” उपन्यास लेखिका गङ्गा लिगलद्वारा लिखित एक उत्कृष्ट उपन्यास हो । गङ्गालिगल एक सशक्त नारी हस्ताक्षरको रूपमा साहित्य जगतमा देखा परेकी छन् । अमेरिका उपन्यास उनका प्रकाशित कृतिहरूमध्ये पन्ध्रौँ स्थानमा पर्छ । अमेरिका उपन्यास उनको उत्कृष्ट रचना हो । अमेरिका उपन्यास वि. सं. २०७० मा भानु द्विशतवार्षिकी महोत्सवको अवसरमा प्रकाशित भएको पाइन्छ । यस उपन्यासमा जम्मा ७६ पृष्ठ रहेका छन् र उपन्यास भने १५ खण्डमा विभाजित छ। 

कथावस्तु
उपन्यास पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरीको प्राकृतिक सुन्दरताको वर्णनबाट सुरु भएको छ । उपन्यास गुल्मीका शुभम र रामपुरकी सुहानाले आफ्नो पढाइ पूरा गर्दै गरेको समयमा माया साटासाट गरेको र त्यसपछिको उनीहरूको जीवनयात्रामा केन्द्रित  छ । उपन्यास पढ्दा लेखिकाले आफ्ना जीवनदर्शनका धारणालाई उपन्यासमा प्रस्तुत गर्न अनुमान लगाउन सकिन्छ । शुभम र सुहानाको माता पितालाई उनीहरूको प्रेम सम्बन्ध  थाहा भएपछि, उपन्यासमा जात, पातको पनि कुरा उठेकाे छ तर त्यसले उनीहरूको सम्बन्धमा कुनै बाधा आउँदैन । शुभमले काठमाडौँमा पढाइ पूरा गर्छ र सुहानाले कलेजमा पढाउन थाल्छे। कथामा सबै कुरा सही भएको त कसैलाई पनि मन पर्दैन होला, त्यसैले शुभमले अमेरिकाको भिसा पाएको कुराले कथावस्तुलाई चाखलाग्दो बनाउँछ । शुभम अमेरिका जान्छ र पढाइ पूरा गरेर, पैसा कमाएर सुहानासँग विवाह गर्न नेपाल फर्कन्छ। अन्तरजातीय विवाह गर्न नहुने भए पनि आआफ्ना मातापितालाई फकाएर, दुवै परिवारमा मेलमिलाप हुन्छ । विहेको तयारी गर्दा शुभम गाडी दुर्घटनामा परेपछि २ महिना अस्पतालमा बिताउनु परेपछि बिहेमा बाधा आउँछ। बिहेमा शुभमको दुर्घटनादेखि लिएर केल्ली ब्राउन भन्ने केटीले शुभामसँगको प्रेममा केही बाधा पुराउँछे । तर पनि बिहे सम्पन्न हुन्छ । 
केल्ली शुभमकी अमेरिका सँगै पढ्दाकी साथी हाे । ऊ एकाेहाेराे शुभमलाई मन पराउँथी । शुभम भने उसलाई साथीकाे रूपमा मात्र हेर्थ्याे । विवाहपछि केल्लीले शुभमलाई अमेरिकामा गोली हान्छे । तर शुभम बाँच्छ र सुहाना पनि अमेरिका आउँछे। सुहानाले अमेरिकामा एक संस्था खोलेर नेपाली भाषा अमेरिकामा बसाेबास गर्ने नेपालीलाई सिकाउँछिन् । उनीहरूकी एक छोरी जन्मिएपछि बुवा आमालाई अमेरिका बोलाउँछन् । जब केल्लीले दाेस्राे पटक शुभममाथि गोली चलाउँछे तब सुहानाले पुलिसलाई बोलाएर ज्यान बचाउँछे । सुहानाले नेपाली भाषा र संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्य सफल हुन्छ । 
शुभमलाई नेपालमा आफ्नाे भाइकाे व्यवसाय डुब्न थालेपछि पारिवारिक तनाव बढ्दै जान्छ । अमेरिकामा आफूले राम्राे आर्थिक लाभ गरे पनि घरपरिवारकाे तनावले ऊ खुसी हुन सक्दैन । एक दिन मन बहलाउन सबै परिवार घुम्न जाने क्रममा पछाडिबाट गाडीले ठक्कर दिएपछि  उपन्यासकाे कथानक सकिएकाे छ । 

उपन्यासमा रहेका पात्रहरू एक मध्यम वर्गीय सामान्य परिवारमा हुने सदस्यहरु जस्तै छन् । प्राय जसो सबै पात्रहरुका सोचविचार र आचरणहरू हामीले आफ्नै समाजमा देखी आएका बानी व्यवहार जस्तै छ । दुवैको परिवार एकदमै जान्नेबुझ्ने छन् । जात नमिले पनि उनीहरूले सुभम र सुहानको माया स्वीकारे र विवाह पनि गरिदिए । 

सुहाना: कथामा सुहाना प्रमुख पात्रका रूपमा आएकी छिन् । नेपालको संस्कृतिलाई संरक्षण  गर्नुपर्छ भन्ने धारणा भएकी सुहाना अनूकुल पात्र हुन् भन्न सकिन्छ । उनले अमेरिका र नेपालको सम्बन्ध पनि राम्रो बनाउने सोच राखेकी थिइन् । सुहाना असल र मिहिनेती छिन् र आफ्नो सोचलाई सार्थक बनाउन उनले धेरै मेहेनत गरिन् । सुहाना पहिलेदेखि नै असल पात्र थिइन् त्यसैले उनी एक गतिशील  पात्रको रूपमा यस उपन्यासमा प्रस्तुत भएकी छन् ।  

शुभम: उपन्यासमा सुभम पनि प्रमुख पात्रका रूपमा उपस्थित छन् । शुभम एउटा मिहिनेती र पढेलेखेको केटा हो । उसले सधैँ आफ्नो खुसीभन्दा अगाडि आफ्नो परिवारको ख्याल राख्थ्यो र त्यसै कारणले ऊ विदेश गएर काम गर्न थाल्छ । सुभमलाई पनि अनूकुल र गतिशील पात्र हो । 

सुभमकी आमा: यस उपन्यासमा सासु र बुहारीको सम्बन्ध प्राय जसो नेपाली ग्रामीण समाजको जस्तो तीतो छैन । सुहाना र शुभमकी आमाको सम्बन्ध पनि निकै राम्रो रहेको छ । शुभमकी आमाले आफ्नी बुहारीलाई एकदमै मनपराउँछिन् र सुहानालाई आफ्नै छोरी जसरी माया गर्छिन् । उनी पनि एक अनूकुल र गतिशील पात्रको रूपमा उपन्यासमा स्थापित छिन् । 

केल्ली: मेरो विचारमा केल्ली भन्ने पात्र यस उपन्यासकी एक मात्र प्रतिकूल पात्रको रुपमा उपस्थित भएकी छ । केल्लीले शुभम र सुहानालाई गोली हानेर र हमला गरेर राम्रो काम गरेकी छैन  । उसको सोच शुभम प्रति राम्रो छैन । उसले एउटा सुन्दर र सुखी परिवारको जीवनमा बाधा ल्याउन खोजेकी छ  । उसको नियत पहिलेदेखि नै राम्रो नभएका कारण ऊ उपन्यासमा एक स्थिर र खराब पात्र हो ।
परिवेश
उपन्यासमा नेपालको गुल्मी, रामपुर,पाल्पा,काठमाडौँदेखि अमेरिकाको क्यालिलिफोर्निया, न्युयोर्क, वासिङ्टन डिसी, पार्क, र मन्दिरहरूजस्ता ठाउँहरूको परिवेश प्रस्तुत गरिएको छ। यस उपन्यासकाे परिवेश व्यापक रहेकाे छ ।
भाषाशैली
अमेरिका उपन्यासको भाषाशैली पनि सरल छ । लेखिकाले धेरै ठाउँमा नेपाली शब्दकाे प्रयाेग नगरी  अङ्ग्रेजी शब्दहरूको प्रयाेग गरेकी छन्  ।  त्यसकारण धेरै युवा पाठकहरूलाई यस किताबले आकर्षित गरेको छ । सरल शब्दमा लेखेकाे  छोटो उपन्यासले धेरै पाठककाे  मन जितेकाे  छ । 
निष्कर्ष
उपन्यासमा युवायुवातीहरूबिच हुने शारीरिक आकर्षण र प्रेम सम्बन्ध, एउटी नारीले गर्नुपरेकाे सङ्घर्ष, नेपाली समाजले देख्न नसक्ने अन्तर जातीय विवाह र त्यसपछिका विविध पारिवारिक घटना क्रमलाई देखाउन खाेजेकाे छ । विदेशमा बसे पनि स्वदेशप्रतिकाे माया, भाषा र संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने कुरा यहाँ देखाइएकाे छ । समग्रमा उपन्यास स्वदेश र विदेशको सामाजिक, सांस्कृतिक, धार्मिक, पारिवारिक, तथा प्राकृतिक सुन्दरताको जीवन्त चित्रण  गर्न सक्षम भएकाे छ ।  उपन्यास छोटो र मिठो छ र पढ्न निकै रोमाञ्चक रहेको छ।