Logo

Student Corner

श्रावण १५

Written by: Prasun Regmi - 22028, Grade XII

Posted on: 16 September, 2021

नेपाल चाडपर्व र धर्मसंस्कृतिमा धनी देश हाे । नेपाली समाजमा विभिन्न समयमा विभिन्न चाडपर्वहरू आइरहेका हुन्छन् । ती चाडपर्वहरूको आआफ्नै महत्त्व हुन्छ । यस्तै विभिन्न पर्वहरूमध्ये एक हो श्रावण १५ अथवा खिर खाने दिन । यस दिनको पनि विशेष महत्त्व छ । असार १५ मा दही चिउराको स्वाद लिएको एक महिनापछि अर्थात् श्रावण १५ मा रोपाइँको काम सकी खिर खाने चलन छ ।
 
हरेक वर्ष श्रावण १५ मा बालबच्चा, वृद्धवृद्धा अति प्रिय खाना खिर खाएर रमाइलो गर्छन् । पूजाआजा तथा पितृकार्यमा खिर प्रसादकाे रूपमा चढाइन्छ । खिरलाई पवित्र भोजनका रूपमा लिइन्छ। 

श्रावण महिना वर्षादको महिना भएको हुनाले यतिखेर रोगहरू धेरै फैलिने हुँदा पाैष्टिक भोजन अति आवश्यक हुन्छ । खिर दुधबाट बनाइने हुँदा यो अत्यन्त पौष्टिक हुन्छ । खिर पूजामा, पितृकार्यमा प्रसादका रूपमा भगवान्‌लाई चढाई आफूहरूले खानुका साथै घरमा आएका पाहुनाहरूलाई पनि मिठो भोजनका रूपमा खुवाइन्छ । खिर पकाउँदा राम्राे खालको बासमती चामल वा ताइचिन चामलबाट बनाइन्छ । खिर दुधमा पकाइन्छ र यसमा विभिन्न किसिमका मरमसला, जस्तै काजु, नरिवल, किसमिस, छोकडा आदि हालिन्छ । यसमा घिउ र सखर अथवा चिनी पनि हालिन्छ । यसरी बनाइएको खिर असाध्यै मिठो हुन्छ । यसरी बनाइएको खिर मिठो हुनुका साथै शक्तिवर्धक र रोग निवारक पनि हुन्छ । 

खिरको महत्त्व सांस्कृतिक रूपमा मात्र नभई वैज्ञानिक रूपमा पनि धेरै महत्त्व छ ।  यसमा हालिने मरमसलाले शरीरलाई पाेषक तत्त्व दिनुका साथै याे रोग निवारक पनि हुन्छ ।  खिरमा रोगसँग लड्ने र औषधीय गुण हुन्छ । ऋतुअनुसार प्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार पकाएर खाने चलनअनुसार रोपाइँकाे काम सकेर थकान मेट्न र कामको चटारामा अलि आराम गर्न, समयमा शरीरलाई तागत दिन, अलि स्वस्थ रहन यो मिठो खिर खाइन्छ । 

श्रावण महिना धेरै वर्षा हुने महिना हो । यतिखेर जताततै हरियाे घाँस प्रशस्त पाइन्छ । गाईवस्तुले धेरै घाँसपात खान पाउने हुँदा प्रशस्त दुध दिन्छन् । श्रावण १५ मा खिर खानैपर्छ भन्ने चलन रहिआएको छ । त्यसकारण हरेक श्रावणको १५ मा घरघरमा मिठो खिर पकाई रमाइलो गरी खाने चलन चलिआएकाे छ ।