Logo

Student Corner

बढ्दो महँगी

Written by: Shreejal Khatri - 22024, Grade XII

Posted on: 15 September, 2021

बजारमा प्रतिस्पर्धा हुनाले भाउको स्थिरपन रहँदैन । आजको बजारमा महँगाइ निकै नै बढाइएको छ । नेपाली परिप्रेक्ष्यमा त सर्वप्रथम महँगी बढ्नुको कारण अधिकांश सामान विदेशबाट आयात गरिएकाले हो । त्यसमाथि देशमा अशान्ति, हिंसा, बन्दप्रकरण आदिले दिनप्रतिदिन महँगी बढ्दै गएकामा हाल काेराेना भाइरसकाे सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थिति र लकडाउनका कारण त झन महँगीले आकाश छाेएकाे छ ।

बन्द भन्यो, बासी सामान पनि चौबर बढी मूल्यमा बेच्ने गरेको देखिन्छ भने स्थानीय बसोबास अन्यत्रबाट भरमार रूपमा जनसङ्ख्याको चाप बढ्नाले पनि महँगीले आकाश छोएको छ । राजनीतिक अस्थिरता, विदेशमाथि निर्भरता आदिका साथ वस्तुहरूको माग बढी भएकाले र वस्तुको आपूर्ति सीमित रहनाले पनि महँगी बढेको हो । अर्को, खाडी क्षेत्रमा भएको राजनीतिक उथलपुथलले प्रेटोलियम पदार्थको मूल्यमा वृद्धि हुँदै जाँदा अन्य वस्तुको पनि मूल्य स्वतः बढ्ने नै भयो । सवारी र ढुवानीमा महँगी बढ्नाले सम्पूर्ण बजार प्रभावित भएर महँगी बढ्यो । अहिले महँगीले आकाश छोएको छ।  छिमेकी देशमै कुनै सामानको १० पैसामात्र मूल्य वृद्धि गर्दा पनि लाखौँ जनता सडकमा ओर्लन्छन्, रेलमार्गमा सुतेर विरोध जनाउँदछन् जसले गर्दा १० पैसा मूल्यवृद्धि गर्न पनि १० पटक सोच्नुपर्ने हुन्छ । यहाँ एउटै सामानको लगभग सय रूपियाँ मूल्य वृद्धि गर्दा पनि खासै विरोध हुन्न । विरोध गरेपनि कुनै मूल्यबाट एक रूपियाँ घटाइन्छ तर वास्तविकतामा मूल्य वृद्धि गरिएकै हुन्छ । यहाँ एक रुपैयाँ घटाउने र ठूलो मूल्य वृद्धि गर्ने गरिन्छ । उपभोक्तामा जागरुकता नभएको हो कि यहाँका मानिसको सहनशीलता बढी भएको हो भन्ने यसैबाट बुझ्न सकिन्छ । यस्तो सहनशीलताकै कारणले होला, विदेशीहरू पनि हाम्रा दैनिक आवश्यकताका सरसामानको व्यापार गर्न यहाँ आउँदछन् र मन लागेजति भाउ बढाएर पैसा कमाउँछन् । यहाँ व्यापार भनेपछि मानिसहरूको दिमागमा लुट्ने र पैसा खाने सोच मात्र आउँछ । सामान मात्र होइन, यातायातले पनि यस्तै रूपमा मनपरी भाडा लिइदिन्छन् । यस्तो सबै हुँदा पनि कसैले पनि चुइँक्क आवाज उठाएका हुँदैनन् । यसले गलत मनोवृत्तिलाई बढावा दिन्छ । 

यस्तो अवस्थामा सरकारी संयन्त्र र उपभोक्ता सजग भई कालाबजारी आदिकाे बजारमाथिकाे नियन्त्रण हटाई केही हदसम्म महँगी वृद्धिलाई रोक्न अग्रसर रहनुपर्दछ । अर्को महत्त्वपूर्ण कुरा भनेको धेरैजसो मानिसलाई आफूमात्र बाँचाैँ भन्ने स्वार्थले हानी गरिरहन्छ । त्यसैले धनदेखि सामानसम्म सङ्ग्रह गरेर राख्ने बानीले अभिप्रेरित हुने गरेको पाइन्छ । यसैबाट महँगी बढ्न पुगेको हो । यसकारण आफू मात्र हैन, अरू पनि छन् भन्ने भाव यदि सबैले दिमागमा राखेमा अनावश्यक रूपमा सामानहरू जम्मा गर्ने बानी हुने छैन । यसबाट पनि महँगी बढ्न पाउँदैन ।