Logo

Student Corner

कानुनको महत्त्व

Written by: Shreejal Khatri - 22024, Grade XII

Posted on: 29 July, 2021

कानुन भनेको नियम हो । परिवार, समाज र राष्ट्र सबै नियमअनुसार चलेका हुन्छन्। राष्ट्रको मूल नियम भनेको संविधान हो । समाजिक मर्यादा, अनुशासन कायम गर्न सबै जनतालाई निर्देशन गर्ने काम कानुनले गर्छ । 

समाजमा अनेक प्रकारका मानिसहरू बसोबास गर्छन् । ती मानिसहरू सबै नैतिकवान् र नियम कानुनको पालना गर्ने खालका हुँदैनन् । अर्कातिर समाजमा आर्थिक रूपले कोही गरिब र केही धनी पनि हुन्छन् । गरिब तथा निमुखालाई धनीले थिचोमिचो गर्छन्, अन्यायमा पार्दछन् । त्यस्तो बेला कानुनको आवश्यकता पर्दछ । यदि कानुन भएन भने समाज मात्र होइन राष्ट्रमै निकै समस्याहरू बढ्दछन् र आउँदछन् । कानुनबिना अशान्ति पनि निकै नै फैलिन्छ त्यसैले सबै मानिसलाई नियन्त्रणमा ल्याउन कानुन निकै जरुरी छ । 

वास्तवमा कानुनले शान्ति सुरक्षा कायम गर्ने, जनधनको सुरक्षा गर्ने र राष्ट्रलाई कतैबाट कुनै प्रकारले क्षति हुन नदिने काम गर्छ । राष्ट्रको कानुनी दृष्टि मजबुत पार्न पनि कानुन बनाइएको हुन्छ । यसरी कानुनका आधारमा चल्ने राज्यलाई कानुनी राज भनिन्छ । कानुनले प्रमाण पाउन साथ त्यसैका आधारमा दोषी लाई दण्डसजाय दिने गर्दछ। कानुनी राज्यमा कानुन शक्तिशाली हुनुपर्छ । कानुन शक्तिशाली नभएको खण्डमा अनेकौँ विकृति देखा पर्न सक्छन् । यसले गर्दा कानुन पालना गर्ने र लागु गर्ने प्रश्नमा राज्यले कडा नीतिलाई अपनाउनै पर्छ ।

कोही कोही मानिसहरूले पैसाको लोभमा कानुन पनि मिचेको पनि देखिन्छ । हाम्रो देशमा सरकारहरूले पनि पैसा पाएमा कानुनलाई पनि क्षति गर्ने काम गर्दछन् । यसले गर्दा सबै मानिसहरूको हकले पनि मान्यता पाउने छैन । यसले गर्दा हामीले एकदम राम्रो र भरोसा हुने मानिसहरूलाई त्यस्तो पदमा राख्नुपर्छ ।

देशमा एकता र शान्ति ल्याउनका लागि कानुन निकै महत्त्वपूर्ण छ । यसले मानिसलाई अनुशासित बनाउँदछ । कानुनले सबै मानिसलाई नियन्त्रणमा ल्याउँदछ र क्षति गर्ने काम पनि घटाउँदछ । यसकारण देशमा एकदम तगडा र राम्रो खालका नियमहरू बनाउनुपर्दछ र त्यसको कार्यान्वयन गनि सही रूपमा गर्नुपर्दछ ।