Logo

Student Corner

दुःखको अन्धकारमा ज्योति

Written by: Kabin Rijal - 22010, Grade XII

Posted on: 27 July, 2021

आकाश हो गन्तव्य जमिनले थामेको छ, 
अब उडान भर्नु छ अतीतको दुःख भुली 
सूर्यको तापले पनि नपग्लिने पङ्ख खोजी ।

समुद्रको बिचैबिच एउटा डुङ्गा तरिरहेको छ । मान्नुस्, त्याे डुङ्गामा तपाईं हुनुहुन्छ l डुङ्गामा तपाईंले अहिलेसम्म कमाएकाे सबै धनसम्पत्ति राखिएको छ तर अचानक खराब मौसमको कारण तपाईंंको डुङ्गाबाट तपाईंंको सबै धनसम्पत्ति समुद्रमा खस्न पुग्यो र कसो कसो गरी तपाईंंले आफ्नो ज्यान जोगाउन सफल हुनुभयो l अब तपाईंसँग दुईओटा मात्र विकल्प छन् l   समुद्रको बिचैबिच आफ्नो धनसम्पत्ति गएको दुःखमा रुँदै बस्नु र अब जीवनमा केही पनि गर्न नसक्ने भनेर हार मान्नु l तपाईं त्यही डुबेको सम्पत्ति तपाईंंलाई कति महत्त्वपूर्ण थियो भनेर तपाईंले समुद्रको चिसो हावालाई बुझाउन सक्नुहुन्छ अथवा हार नमानी मौन भई समुद्रको किनारमा आउने बाटो खोजेर नयाँ सुरुवात गर्नु l 

यस समुद्रको उदाहरणजस्तै हाम्रो जीवनमा पनि धेरै यस्ता अवस्थाहरू अlउँछन् तर सायद हामीलाई थाहा पनि हुँदैन कि हाम्रो जिन्दगीले हाम्रो परीक्षा लिइरहेको छ भनेर र त्यो जीवनको परीक्षामा दुःखको बिउमा मल दिने कि सुखको बिउमा मल दिने भन्ने उत्तर हामीमाथि नै निर्भर हुन्छ l अतीतको गल्तीलाई लिएर हाम्रो आउनेवाला सुमधुर भविष्यलाई बिगार्ने छौँ अथवा हामी त्यसबाट पाठ सिकेर अगाडि बढ्ने छौँ र सुमधुर भविष्य बनाउने छौँ, यो सबै हाम्रै हातमा हुने छ l पृथ्वीमा जन्म लिइसकेपछि हामीले दुःखलाई पन्छाउन सक्दैनाैँ l दुःखको त्यो कालो घडीमा दुःख  मनाएर हारको त्यो कालो मुखौटोले छोपेको त्यो शरीरमा कहिले उज्यालोको प्रकाश छिर्न पाउँदैन l 

हामी धेरै दुःखी तब हुँदैनाैँ जब नराम्रो घटना घट्छ, हामी दुःखी त तब हुन्छौँ जब त्यो अचानक घट्छ l असार महिना वर्षाको महिना हो भनेर हामी सबैलाई थाहा छ त्यसैले हामी बाहिर जाँदा हामीले पानीबाट बच्न पहिलेदेखि आफूसँग छाता बोकेर हिँड्छौँ । त्याे बेला थोरै पानीका थोपा शरीरमा पर्दा पनि हामीलाई त्यति दुःख लाग्दैन तर यदि चैत वैशाखमा हामी कतै बाहिर जाँदा पानीले भिजायो भने हामी धेरै दुःखी हुन्छौँ किनकि चैत वैशाख वर्षाको महिना हैन र हामीले पानीसँग बच्ने केही कुरा आफूसँग बोकेका हुँदैनाैँ र सबै कुरा अचानक हुन्छ l 

त्यसैले हामीले केही कार्य गर्नुअघि त्यस कार्यको सकारात्मक र नकारात्मक पक्षलाई राम्रोसँग परीक्षण गर्नुपर्छ, जसका कारण यदि केही नकारात्मक घटना घटिहाल्यो भने पनि  हामीसँग त्यो घटना अचानक हुँदैन र हामीले त्यो कालो क्षणलाई उज्यालोको प्रकाश दिन सक्छौँ l