Logo

Student Corner

जनचेतना

Written by: Binayak Mahato - 22025, Grade XII

Posted on: 25 July, 2021

एक दिन बेलुकीको कुरा हाे, म कतैबाट घर आएको थिएँ । मेरो घरकै छेउमा वडा कार्याल पनि छ । त्यहाँ मैले ठुलो भिडभाड देखेँ । त्यहाँ बुझ्दै जाँदा त्यो भिड जनचेतना कार्यक्रममा सहभागी हुने मानिसहरूको रहेछ । 

त्यस दिन जिल्लाबाट जनचेतनाको कार्यक्रम लिएर हाकिम साहेब वडा कार्यालमा आउनुभएको थियो । मेराे बुवा वडा अध्यक्ष भएकाले हाकिम साहेबले बुवालाई खोज्नुभयो र सबै कुरा सम्झाउनुभयो । बुवा त्यस कार्यक्रमा आफैँ सहभागी हुनुभयो र गाउँका अरू महिलाहरूलाई पनि त्यस कार्यक्रममा सहभागी हुनका निम्ति बोलाउनुभयो । बुवाले बाटो हिँड्दै गर्नुभएकी एकजना दिदीलाई अरू पनि २०-३० जना महिलाहरूलाई बोलाइदिनु भन्नुभयो । ती दिदीले गाउँका केही महिलाहरूलाई बोलाउनुभयो र कार्यक्रम सुरु भयो । अन्त्यमा कार्यक्रम सकिँदा हाकिम साहेबले त्यहाँ उपस्थित भएका सबै जनालाई नास्ता खुवाउने सोच्नुभएकाे रहेछ । हाकिम साहेबले खाजाका निम्ति त्यहाँ उपस्थित हुनुभएका सबै महिलाहरूलाई प्रतिव्यक्ति ३०० रुपैयाँ दिनुभयो । त्यहाँ हाकिम साहेबले सबैजनालाई उपस्थितिमा सही छाप गर्न लगाएर उनीहरूलाई खाजा खाने पैसा दिएर बिदा गर्नुभयो । उनीहरूलाई पैसा त दिइयो तर उनीहरूलाई त्यो पैसा किन दिएको हो भन्ने कुरा थाहा नै थिएन ।  

जब सबैजनालाई वडा कार्यालयबाट बिदा गरियो । त्यसकाे केही बेरपछि कार्यालयअगाडि टन्नै भिडभाड देखियो । मैले यसाे बुझ्दै जाँदा त्यो भिडभाड त्यही पैसा दिएको कारणले भएको रहेछ । मैले घरछेउकै एकजना आमालाई किन पैसा दिइएकाे रहेछ भनेर सोधेँ । मलाई ती आमाले भन्नुभयाे, “त्यहाँ वडा कार्यालयमा छाप लगाउन लगाएर पैसा दिइएकाे छ भन्ने हल्ला छ ।” गाउँका सबै मनिसहरूमा के हल्ला फैलिएको रहेछ भने मान्छे छानी छानी पैसा बाँडिएको छ । मानिसहरूले बुझ्न नसकेर त्यस्ताे गलत हल्ला फैलिएको रहेछ । मलाई त त्यो कुरा सुन्दा एक छिन हाँस पनि उठ्यो किनभने मैले यस्ताे सोचेँ कि जनचेतना कार्यक्रमकै बेला यस्तो चेतनाहीन हल्ला !

मलाई यस्तो लाग्छ कि त्यो गलत हल्ला मानिसहरूले बुझ्न नसकेर भएको रहेछ । साँच्चिकै यहाँ, हाम्रो गाउँमा शिक्षाको कमीले गर्दा यहाँका मानिसहरूमा जनचेतनाको कमी देखिएको जस्तो लाग्छ मलाई ।