Logo

Student Corner

त्यो पलको सम्झना

Written by: Safal Gautam - 22016, Grade XII

Posted on: 22 July, 2021

वि. सं. २०७३ पाैष १६ गते मेरो पहिलेको विद्यालयले कक्षा ७ का विद्यार्थीहरूलाई पोखरा भ्रमणका लागि अवसर दियाे । हामी भर्खर ७ कक्षामा पुगेका विद्यार्थीलाई पोखरा भनेको विदेश बराबर लाग्थ्यो किनभने हामी त्यता मात्र आफ्नो परिवारसँग जान्थ्याैँ र कोही कोही त पोखरा गएका पनि थिएनन् । रु.७००० मा ३ दिन पोखरा भ्रमण एकदमै राम्रो अवसर थियाे हामीलाई । त्यसैले यो भ्रमणमा लगभग ९७% विद्यार्थी आएका थिए । 

अहिले पनि त्यो भ्रमणको याद आउँछ मलाई । १२-१३ वर्षको रमाइलाे उमेरमा आफ्नाे परिवारबिना साथीहरू र ४ जना शिक्षकहरूसँग आफ्नो घरभन्दा ८-९ घण्टा टाढाकाे ठाउँमा २ रात बिताउने भनेको एकदमै रमाइलो कुरा थियो । 

पोखरा जाँदा हामी ३ ओटा बस लिएर ८ घण्टा लगातार त्यो घुमाउरो बाटोमा हल्लिँदै, गीत सुन्दै र कुनै कुनै बेला नाच्दै पोखरा पुग्यौँ । त्यहाँ ‘लेक साइड होटेल’ मा चेक इन गरेपछि हामी सबैजना एउटा काेठामा ५ जनाकाे समूह हुने गरी बस्यौँ । 

रातको बेला, चिसो हावा, उज्यालो सहर र चम्किलो आकाश ! १२-१३ वर्षकाे हुँदा बियर खान नमिल्ने भएकाले १२ प्याकेट चिप्स र १० बोतल कोक किनेर झ्यालबाहिर हेर्दै हामी ३५-४० वर्षीय अधबैँसेझैँ एक अर्कालाई आफ्नो बच्चा बेलाको कथा सुनाइरहेका थियाैँ । के गर्नु, भोलिपल्ट ३ जनालाई रुघा लागेछ । 

रमाइलो सहर, रमाइला साथी र रमाइलो जिन्दगानी, त्यो ३ दिनकाे अवधि छोटो भए तापनि हामी ५५ जना विद्यार्थीका लागि एकदमै रमाइलो पल रह्यो । 

फेवा तालमा डुङ्गा चढियो, ‘नाइट मार्केट’ मा किनमेल गरियो, डिजे पार्टी हुँदा लुकेर १० जना त्यो रात पोखराको त्यो सडकमा १ घण्टा म्याराथुन भन्दै भाग्दै गरेको पनि मजासित याद छ मलाई । 

ती पल अब हराइसके । त्यसलगायत पनि हामीलाई विद्यालयले बन्दीपुर, चितवन, झापा, इटहरी, भारत, लुम्बिनीजस्ता धेरै रमाइला ठाउँ पनि लाग्याे तर पोखराजस्तो ठाउँ र रमाइलो भ्रमण अरू ठाउँमा हुन सकेन किनभने त्यो हाम्रो पहिलो भ्रमण थियाे, जसले केही प्रभाव ल्याएको थियाे हाम्रो जिन्दगीमा ।