Logo

Student Corner

धनभन्दा मन ठुलो

Written by: Diya Shrestha - 22032, Grade XII

Posted on: 20 July, 2021

धन नै सबै थोक हो भनेर लम्पट भएर लाग्दा त्यसले हाम्रो जीवनको रस खोसिदिन्छ; जीवनको सुगन्ध खोसिदिन्छ; जीवनको सौन्दर्य खोसिदिन्छ । मृत्युको मुखसम्म पुग्दा हामी खोक्रा भइसक्छौँ । अझै पनि मनमा भोक मरेको हुँदैन, धनको । मानिससँग धन भएर मात्र हुँदैन, उससँग उदार मनको पनि त्यतिकै आवश्यकता पर्दछ । मानिसको मन सङ्कुचित भएमा उसले धन भए पनि जीवनमा केही गर्न सक्दैन । मानिसहरूले आफ्नो जीवनमा केही सफलता हासिल गर्न पनि मनमा उदारता र भावनामा फराकिलोपन हुनु जरुरी छ । यो भएन भने उसले हासिल गर्न खोजेको लक्ष्य नै सफल हुँदैन ।
धन भनेको एक किसिमको चिज हो, जसले हरेक मानिसलाई आफुतिर तान्न खोज्छ तर त्यो धन हसिल गर्नलाई मन हुन पनि जरुरी छ । कुनै काम समाप्त पार्नको लागि धन त चाहिन्छ नै तर मन नभएसम्म त्यो कुरा समयमा भ्याइएला त ? पक्कै भ्याइँदैन । त्यसैले धन भएर मात्रै कुनै काम सम्पन्न हुन्न, त्यसका लागि मन सक्रिय हुनैपर्छ । समाज सेवाको कुरा गर्दा अहिले देश विदेशमा विभिन्न नाम गरेका संस्थाहरू स्थापित भएका छन्, चाहे उनीहरूले भिन्न प्रकारका सेवा दिए पनि गर्ने भनेको मनले नै गर्दा हो । सेवा गर्दा पैसा आवश्य चाहिन्छ तर मन ठुलो हुनुपर्छ । हामी राजनीति वा उद्योगको कुरा गरौँ । त्यहाँ सबै मनको खेलले नै हार जित हुने हो । यी सबै चिजमा धनको जोहो त गर्नुपर्ला तर मनले पनि त्यही अनुसार काम गर्‍यो भने त्यो मानिस सफल हुन समय लग्दैन । पैसाभन्दा पनि पहिला मानिसको मनले त्यो क्षेत्रमा रुचि राखे मात्र जान मन लाग्छ । समाज सेवाका लागि पनि मानिसको मन उदार हुनैपर्छ । मन उदार भएन भने पैसाको महल भए पनि उसले केही गर्न सक्दैन । राज्य सञ्चालन गर्नेसित उदार मन भएन भने धन मात्र भएर के हुन्छ ? त्यस्ता शासकले आफैँ सबै सकिदिन्छन् ।
जन्मिएपछि मर्नु प्रकृतिको नियम हो । मानिसले मरेर जाँदा धन जति भए पनि आफूसँग लान असम्भव छ तर यदि मानिसको मन राम्रो छ भने उसले आफूसँग भएको धन गरिबलाई बाँड्न सक्छ र यसरी उसलाई असल नागरिकका रूपमा सबैले चिन्छन् ।