Logo

Student Corner

विद्यार्थी जीवन

Written by: Ishu Shiwakoti - 22009, Grade XII

Posted on: 19 July, 2021

विद्यार्थीले अध्ययन गर्ने क्रममा बिताएको समयलाई विद्यार्थी जीवन भनिन्छ । विद्यार्थी जीवन सामान्यतया मानव जीवनको बाल्यकालदेखि नै सुरु हुन्छ । विद्यार्थी जीवनले हाम्रो भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दछ त्यसकारण भावी जीवनलाई सफल र सुखी बनाउनका लागि यो समयमा धेरै परिश्रम गरी आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्दछ । विद्यार्थी जीवनमा मुख्य काम भनेको नै अध्ययन गर्ने र नयाँ नयाँ कुराहरू सिक्ने हो । हरेक विद्यार्थीलाई धेरै पढ्ने र भविष्यमा प्रतिष्ठित व्यक्ति बन्ने इच्छा हुनुपर्छ ।  

विद्यार्थी जीवनको क्रममा हाम्रो शारीरिक तथा मानसिक विकास पनि सँगसँगै भइरहेको हुन्छ । यो समयमा धेरै सङ्घर्षका कुराहरू, रमाइला कुराहरू तथा अन्य राम्रा र नराम्रा अनुभवहरू पनि हुने गर्दछन् । यो समयमा अध्ययनका साथसाथै रमाइलाका लागि गरिने विभिन्न क्रियाकलाप, जस्तैः नाचगान गर्ने, पिकनिक जाने, खेलहरू खेल्ने आदि त झन् बिर्सिनै नसकिने पक्ष हुन् । त्यसैगरी बौद्धिक विकासका लागि गरिने खेलकुद, चित्रकला, वादविवाद जस्ता प्रतियोगिताहरू, शैक्षिक भ्रमण, सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस आदिमा सहभागी भएका बेलाहरू पनि अविस्मरणीय हुने छ । 


विद्यार्थी जीवनमा नयाँ नयाँ धेरै साथीहरू तथा शिक्षक शिक्षिकाहरूसँग सङ्गत गर्न पाइन्छ । खराब सङ्गत भयो भने बर्बाद हुन सक्छ त्यसैले अध्ययनका साथसाथै साथीहरूको सङ्गत, गुरुहरूको सरसल्लाह, पढिएका पाठहरूको ज्ञानलगायत सबै कुराहरूको विचार पुर्याएर अनुशासित भएर अघि बढ्नुपर्छ । वास्तवमा विद्यार्थी जीवन हाम्रो जीवनकै सबैभन्दा महत्त्वपूर्ण र मूल्यवान् समय हो । यो समयलाई सही सदुपयोग गरेर आफ्नो जीवनमा अगाडि बढ्नुपर्छ ।