Logo

Student Corner

प्रदूषण

Written by: Simone Sangat - 2022019, Grade XII

Posted on: 14 July, 2021

वातावरण शब्दले पृथ्वी वरिपरिको हावापानीलाई जनाउँछ । वातावरण प्रदूषण अन्तर्गत हावापानी प्रदूषण, भूमि प्रदूषण, ध्वनि प्रदूषण र तापीय प्रदूषण पर्दछन् र यिनीहरूले जैविक तथा रासायनिक विविधतामा अवाञ्छित परिवर्तन ल्याउँछन् । विभिन्न उद्योगधन्दा र जनघनत्वका कारण हावापानी प्रदूषण, आणविक शस्त्रास्त्रको निर्माण र पृथ्वीमा तिनको प्रयोग, रासायनिक मलको प्रयोग र वनविनाशले गर्दा भूमि प्रदूषण, उद्योग र कल कारखाना तथा मोटरगाडीका चर्का आवाजले ध्वनि प्रदूषण र बिस्फोटन, कीटनाशक औषधीको प्रयोगले माटोको क्षरण  एवम् ओजोन तहको विनाशले गर्दा सूर्यका किरणहरू पृथ्वीमा पर्ने गर्दा ग्लोबल वार्मिङ्गका कारणले आज सबै क्षेत्रहरूमा परिवर्तन आएका छन् जसले गर्दा वातावरण प्रदूषणको वृद्धिलगायतका समस्या सिर्जना भएका छन् ।

यान्त्रिकीकरण, औद्योगिकरणका कारण आज विश्वभर वातावरणीय समस्या विकराल बनेको छ । विभिन्न उद्योगधन्दा, कल कारखाना र सवारी साधनबाट निस्कने धुलो, धुवाँ र चर्का आवाजहरूले गर्दा हावापानी प्रदूषण र ध्वनि प्रदूषण भएको छ । साथै विकसित राष्ट्रहरूमा आणविक बिस्फोटन र तिनको परीक्षणले गर्दा भूमि प्रदूषण तथा रेडियोथर्मिक प्रदूषणलाई निम्त्याएको छ । अविकसित राष्ट्रहरूमा रासायनिक मल र कीटनाशक औषधीको अधिक प्रयोग तथा वनजङ्गलको विनाशले गर्दा वातावरण प्रदूषणको समस्या दिनानुदिन बढिरहेको छ।अतः मानवीय क्रियाकलापले वातावरण प्रतिकूल हुँदै गइरहेको छ र यो सुन्दर धर्ती र पृथ्वीको विनाश हुँदै गइरहेको छ।

हाम्रो देश नेपालमा पनि वातावरण प्रदूषणले चर्को रूप लिएको छ सहरी क्षेत्र र विशेष गरी काठमाडौँ उपत्यकामा अव्यवस्थित बसोवास, फोहोरमैला, उद्योग धन्दा र कल कारखानाले फ्यालेका धुलो र धुँवाले गर्दा मानिस सङ्कटको भूमरीमा फसेका छन् बागमती र विष्णुमती जस्ता पवित्र नदीहरू दलमा रूपान्तरित भएका छन् । हरिया डाडा नाङ्गा हुँदै छन् भने पानीका मुहान सुक्दै  गएका छन् । मानिस आफ्नो क्रियाकलापले आफै समस्यामा परेको छ।

वातावरण प्रदूषणको समस्याले नकारात्मक असर देखाएको हुँदा यसको न्यूनीकरण गर्न सबै पृथ्वीवासी एकजुट हुनुपर्छ । कोइली र मुजुरको मीठा आवाजको सट्टामा कारखाना र मोटरगाडीको चर्को आवाजले कानै बहिरा हुन लागेका छन् । शीतल र स्वच्छ वायुका सट्टामा कालो धुवाले संसारभरि राज गर्न थालिसकेको छ यसले गर्दा धर्तीमा मानवलगायत धर्तीका सम्पूर्ण जीवजन्तु र वनस्पतिको अस्तित्व सङ्कटमा परेको छ । यसरी नै वातावरण प्रदूषित भए पृथ्वीको अस्तित्व रहँदैन । सावधानी नपुर्ययी गरिएको विकासका कार्यले भावी पुस्तालाई ठूलो सङ्कट ल्याउने हुँदा प्रदूषणको अन्त्य गरी स्वच्छ, सफा धर्ती भावी पुस्तालाई सुम्पने जिम्मा हाम्रो काँधमा आएको छ।