Logo

Student Corner

कक्षा ११ का सम्झनाहरू

Written by: Niharika Shrestha - 22022, Grade XII

Posted on: 12 July, 2021

हिजो भर्खरै कक्षा १० सकेर कलेजको खोजमा भएजस्तो लाग्छ तर अहिले भने ११ नै सक्कियो । कति छिटो एक झलकमै १ वर्ष पनि बित्यो । हुन त हामीले यो १ वर्ष घरमै बसेर बितायौँ तर केही महिना कलेजमा बिताएका दिनहरू कहिले बिर्सिन सकिँदैन । याे कलेजले मलाई धेरै राम्रा साथीहरू र शिक्षकहरूसँग भेटायाे, त्यसैले यस कलेजमा पढ्ने निर्णय गरेकामा म एकदमै खुसी छु । यस कलेजमा पढाइका साथ साथै थुप्रै अतिरिक्त पाठ्यक्रमका गतिविधिहरू पनि अनुभव गर्न पाइन्छ । 

साथीहरूलाई पहिलो पटक कलेजमा देख्दा उत्साह नै बेग्लै थियो । पहिलो पटक साथीहरूलाई भेट्दा त अलि चिन्न पनि गाह्राे भएको थियो किनभने हाम्रो कलेजको सुरुवात नै अनलाइन कक्षाबाट भएको थियो । कक्षामा साथीहरूसँग बिताएका पलहरू सधैँ मेरा लागि प्यारा हुने छन् । साथीहरूसँग कक्षमा गफ गर्दा शिक्षकले कराउनु हुँदा त्यो बेला त नराम्रो लाग्थ्यो तर अहिले भने सोच्दा निकै रमाइलो र हाँसो लाग्छ । कक्षा सकिएपछि ५ मिनेटकाे ब्रेकमा शिक्षकहरूले पढाउन नछोड्दा एक किसिमको छटपटाहट हुन्थ्यो र के बहाना बनाएर शिक्षकलाई भनेर कक्षा सकेर बाहिर जाऊँ जस्तो हुन्थ्यो । कहिलेकाहीँ त्यो ५ मिनेट ब्रेक कहिले नसकियाेस् जस्तो पनि हुन्थ्यो । 

कलेजको क्यान्टिनमा पहिलो पटक खाना सेटबाहेक मेनु सूचीमा अरू खाने कुराहरू थपेको देख्दा हामी साथीहरूको अनुहारमा आएको खुसी बयान नै गर्न सकिँदैन । सधैँ बाहिर खाइरहेको मम भए तापनि कलेजमा खाँदा रमाइलो नै छुट्टै थियो । खाना सकिनेबित्तिकै हामी सबै साथीहरू भेला भएर टन्नै गफ गर्थ्यौं, तर केही महिना भाैतिक रूपमै विद्यालय खुल्नेबित्तिकै दुर्भाग्यवश फेरि अनलाइन कक्षा नै सुरु भयो । अनलाइन कक्षा पनि रमाइलो नै थियो तर कलेजमा हुँदाको मज्जा नै अर्कै हुन्थ्यो । कलेजमा पढाइका साथसाथै गफगाफ पनि हुन्थ्यो र पढ्न पनि सजिलो हुन्थ्यो । अहिलेसम्म कहिले अनुभव गर्न नपाएको कुरा कक्षा ११ मा आएर यस्तो अनलाइन कक्षाबाट पढ्ने अनुभव पनि पाइयो । सुरु सुरुमा त अलि अप्ठ्यारो पनि भएको थियो तर अनलाइनबाट कक्षा लिँदै गएपछि बिस्तारै बानी हुँदै गयो । यो मात्र नभए हामीले परीक्षा पनि अनलाइनबाट दिने मौका पायौँ, जुन मैले अहिलेसम्म अनुभव गर्न पाएको थिइनँ । यो महामारीले हामीलाई निकै दुःख पनि दियाे तर नयाँ कुराहरूको अनुभव पनि गरायाे त्यसैले यी सबै सानाठुला सम्झनाहरू जीवनमा कहिले बिर्सिन सकिँदैन । 

स्पोर्ट्स विकदेखि लिएर डिएसएस टक, हाइकिङ्गसम्मका सम्झनाहरू सधैँ प्यारा हुने छन् । हाइकिङ्गले गर्दा पनि हामी साथीहरू अझै नजिक भयौँ र पहिलेभन्दा पनि अझै मिल्न थाल्यौँ । हाइकिङ्ग गएर फर्के पनि त्यस दिनमा बनाइएका सम्झनाहरूको कुरा अझै पनि भइराख्छ । फोटो हेर्नेबित्तिकै सबै सम्झनाहरू ताजा हुन्छन् र फेरि जाऊँ जाऊँ लाग्छ । हिँड्दा मात्र होइन हामीले बसमा पनि निक्कै रमाइलो गर्यौं । हामीले गीत गायौँ, नाच्यौँ, फोटाहरू खिच्यौँ र टन्न गफहरू पनि गर्यौं । ११ कक्षामा यति रमाइलो भयो कि कहिले १ वर्ष बित्यो पनि थाहा भएन । 

सबैले भन्थे कलेज निकै रमाइलो हुन्छ र मलाई पनि अहिले आएर यस्तै महसुस भएको छ । आशा छ कि कक्षा १२ पनि यति नै रमाइलो होस् र निक्कै सम्झनाहरू बनाउन पाइयाेस् र छिट्टै यस महामारीको अन्त्य भएर जनजीवन सामान्य होस् र कलेजमै गएर पहिलेजस्तै हाँस्दै, रमाउँदै पढ्न पाइयाेस् ।