Logo

Student Corner

नेपालमा विद्युतीकरण

Written by: Rakshit Dahal - 22023, Grade XI

Posted on: 08 July, 2021

हामी मानिसहरू आफ्नो जीवन गुजारा गर्नका लागि ऊर्जाका स्रोतहरूकाे प्रयोग गर्छौं । ऊर्जाका स्रोतहरूमध्ये विद्युतीय ऊर्जा एक हो । विद्युतीय ऊर्जा बग्ने पानी, रसायन, सौर्य ऊर्जा आदिको प्रयोग गरेर उत्पादन गरिन्छ । संसारमा विद्युतीय ऊर्जाको प्रयोग बढ्दै छ र धेरै देशहरूले यसको उत्पादनले आफ्नो अर्थतन्त्र बलियो बनाएका छन् । नेपाल हिमालयको काखमा रहेको देश भएकाले यहाँ हिमालयबाट उत्पत्ति भएका सयौँ नदीहरू बग्छन् । यी नदीहरूको बहाब निकै तेज छ र यसबाट धेरै मात्रामा विद्युत् उत्पादन गर्न सकिन्छ । 

संसारमा अहिले कोइला, पेट्रोलियम पदार्थजस्ता ऊर्जाका स्रोतले प्रदूषण बढाएका छन् ।  यस्ता प्रदूषण बढाउने ऊर्जाका स्रोतका ठाउँमा हामीले विद्युतीय ऊर्जाकाे उत्पादन गर्नुपर्छ । नेपालमा ८३,००० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ । यत्रो सङ्ख्यामा विद्युत उत्पादन गरे हामीले अरू प्रदूषण बढाउने ऊर्जाका स्रोतहरू प्रयोग गर्नु पर्दैनथ्यो । नेपालको अहिलेको वातावरणीय अवस्था नाजुक नभए पनि कोइला र पेट्रोलियमजस्ता ऊर्जाको स्रोतको प्रयोग हटेन भने वातावरणीय अवस्था नाजुक बन्ने छ । यसरी वातावरणलाई सन्तुलित राखेर देश विकास गर्नका लागि हामीले नेपालीहरूका लागि विद्युतीय ऊर्जा नै सबैभन्दा उत्तम हो भनेर विश्वास देखाउनुपर्छ । 

विद्युत अर्थात बिजुलीको प्रयोगले हामी घरमा रहेका अनेकौँ विद्युतीय सामानहरू, जस्तैः टेलिभिजन, कम्प्युटर, लुगाहरू धुने मेसिन, भाँडा माझ्ने मेसिन र अन्य कुराहरूको प्रयोग गर्न सक्छौँ । घरका साना साना मेसिन मात्र होइन, प्रशस्त विद्युतीय ऊर्जाले हामी गाडी, बस, पानी जहाज, हवाइ जहाज आदि ठुला ठुला मेसिन पनि चलाउन सकिन्छ । यसो भएमा हाम्रो जीवन सहज र राम्राे बन्छ । यसरी विद्युत्‌काे प्रयोगले दैनिक जीवनमा धेरै काम गर्न र पुरै देश विद्युत्‌मा भर पर्नुलाई नै विद्युतीकरण भनिन्छ ।