Logo

Student Corner

जित्न सक्ने भावना

Written by: Samrat Nakarmi - 2022011, Grade XI

Posted on: 30 June, 2021

“जीवन सबै जीवजन्तुको छोटो हुन्छ । कसैको आयु छाेटाे हुन्छ भने कसैको आयु लामो । सबै मान्छेलाई आफ्नो जीवनमा केही ठुलो गर्ने वा ठुलाे बन्ने इच्छा हुन्छ तर धेरैले यस्ताे गर्न सक्दैनन् । आफ्नो नाम इतिहासमा लेख्दा नि मान्छेलाई सन्तुष्टि हुँदैन । मान्छेहरूको मनमा एउटा खाली ठाउँ जहिले रहन्छ । सबै आफ्ना लागि राम्रो गर्ने ठाउँ खोज्छन् तर परिस्थिले मान्छेलाई आफ्नो बाटामा रोक्दिन्छ । हामी के गर्न सक्छाैँ भन्ने कुरा, हाम्राे क्षमता, जन्म, मृत्यु सबै कुरा प्राकृतिक नियम अन्तर्गत पर्दछन् । हाम्रो वर्तमान संसारमा मानिसहरू दिनरात काम गर्छन् तर केही पनि प्राप्त गर्न सक्दैनन् । पैसा ठुलो कुरा हो तर के काम यसकाे, जुन आज छ तर भोलि छैन । धनसम्पत्ति सबै कमाएर राख्दा के पाइन्छ ? यस्ताे अवस्थामा धन कमाएर मात्र राख्नु आफ्नो जीवनलाई बरबाद गर्नु जत्तिकै हो तर के गर्न सक्छाैँ र हामी ? हामीलाई त भाग्यले नि साथ दिँदैन, हामी युद्ध गर्न र युद्धमै मर्न बाध्य छाैँ ।” राम युद्धपाेतमा बसेर सधैँ यस्तै साेच्थ्याे ।

राम एउटा मिहिनेती, सहयोगी र राम्रो व्यवहारको व्यक्ति थियो । दिनरात मिहिनेत गरेर आफ्नो परिवार चलाउने व्यक्ति, जसलाई सबैले चिन्छन् र सम्मान गर्छन् । कसैको त राम प्रेरणाको स्रोत पनि हो । कसैलाई त उसको चेला बन्न मन छ । दिनरात काम गर्ने एउटा मध्यम वर्गको मान्छेलाई किन यस्तो व्यवहार देखाएको होला भनेर अरू राज्यका मान्छेको जिज्ञासा बढेको थियो । राम हरेक दिन काममा जन्थ्यो । आफ्नो परिवारसँग बिताउने समय पनि कहिले थिएन । 

‘रामले के  गर्थ्यो र त्यस्तो ?

राम एउटा सिपाही थियो । ऊ २ वर्षका लागि युद्धपोतहरूको सेनापति थियाे । १००० मान्छे उसको मातहतमा काम गर्थे । राज्यहरूको जमिनमा मात्र होइन, समुद्रमा पनि युद्ध हुन्थ्यो ।  कसले सोचेको थियो र त्यस्ताे विकास हुन्छ भनेर ? हरेक देशले दिनको १०० जति युद्धपोत निर्माण गर्थे । समुद्र एउटा सुन्दर दृश्य भएको ठाउँ र शान्त ठाउँ, अब मानव जातिले गर्दा शान्त रहेन । जता हेरे पनि जम्मा भएका फलामका टुक्राहरू, तेलले गर्दा पानीमा लागेकाे आगाले गर्दा माछाहरूलाई सास फेर्न समस्या हुने । रामलाई यस्तो हेर्न मन थिएन, जहाँ गए पनि मान्छेहरूलाई युद्ध गर्न मात्र आउँछ । “किन हामी मर्न जाने ? हामीले के पाउँछाै र ? किन मान्छेहरूले यी राजाहरूका कुरा मान्छन् ?” रामलाई आफ्नो यो जिन्दगी मन परेन ।  आफ्नो परिवार बचेको छ कि छैन भन्ने पनि उसलाई थाहा छैन । उसलाई देशका लागि लड्न मात्र भनिएको छ । आफ्नो परिवारको बारेमा सोध्दा कसैले केही भन्दैन । ऊ रुने अवस्थामा पुगिसकेको थियो । “दिन रात मर्ने डरले काम गरे पनि के पाएको छु मैले याे जिन्दगीमा ? मेरो नाम आज सबैले याद गरेका होलान् तर म नभएको दिन सबैले बिर्सिन्छन् ।” ऊ आँखामा आँसु बोकेर सोच्दै थियो । 

“ठुलाका विरूद्ध बाेल्याे भने मारिदिन्छन् र यो मेरो जिन्दगी यस्तै भयो भने पनि म युद्धको मैदानमा मर्ने छु । जहाँ हेरे पनि, जहाँ गए पनि हामीलाई मर्नै लेखेको रहेछ भाग्यमा । कतिलाई मारेँ, कति मरेको देखेँ । त्यो समय सम्झँदा पनि मेरो शरीर पुरै डरले काँप्छ । दिनरात सुत्न सक्दिनँ । कहिलेकाहीँ त मर्दा नै राम्रो हुन्छ भन्ने सोच्छु, तर परिवार हराउने डरले म केही गर्न सक्दिनँ । हामी यहाँ किन याे संसारमा आएका हाैँ ? के दुःखकष्टहरू भोग्नलाई मात्र हाे ?” 

रामले आफ्ना यी सबै विचारहरू, कुराहरू जनता र उसका चेलाहरूलाई बुझायाे । पहिलो पटकमा कोही सुन्न तयार थिएन तर जब उसले ठुलो स्वरमा सबैको अवस्थामा सुधार गर्न सक्छु भन्यो, तब सबैजना उसका कुरा सुन्न तयार भए । रामको काम र उसले सिकाएका कुरा देशभर चर्चित भए । सबैजनालाई रामले बताएको कुरा सही लाग्यो । यो कुरा सरकारले सहन सकेन ।

“यो जिन्दगीमा अब मर्ने नै हो भने किन डराएर, असन्तुष्ट भएर मर्ने ? सबैको मनभित्र राम्रा कुरा जगाएर देशलाई राम्रो बाटोमा लगेर मर्छु । देशको लागि अरू देशसँग लडेर ज्यान दिन तयार थिएँ, अब देशलाई यसरी बिग्रिनबाट बचाउन आफ्नो सबै थाेक दिन तयार छु ।”
रामका कार्यले धेरै ठुलो क्रान्ति सुरु भएको थियो । यो क्रान्ति देखेर युद्ध विराेधी अरू विदेशी राज्यहरूले पनि रामलाई सहयोग गरे ।
        
तर के गर्ने ? जे गरे पनि जीवित वर्गकाे मृत्यु निश्चित थियो । शक्तिशाली क्रूर सरकारले रामलाई उठाएर सबैकाे अगाडि टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेर मारिदियाे । यो घटनाले मान्छेहरू क्रान्तिमा झन् प्रतिवद्ध भएर लागे र पछि रामको ठाउँ लिन उसको छोराे हाजिर भयो । अन्त्यमा जित उनीहरूकै भयाे र जनताहरूले रामले साेचेजस्तै शान्तिपूर्वक बाँच्न पाए ।
 
सबैको जीवन सोचेजस्तो हुँदैन र सबैजना सोचेजस्तो सफल हुँदैनन्, । कहिलेकाहीँ सफल हुनका लागि धेरै ठुलाे त्याग र बलिदानकाे आवश्यकता हुन्छ । सफल बन्न धेरै गाह्रो नहुन सक्छ तर सफलता कायम राख्न गाह्रो छ ।