Logo

Student Corner

विद्यार्थी जीवनः तपस्वी जीवन

Written by: Manisha Gurung - 2022030, Grade XI

Posted on: 29 June, 2021

मेरी आमा मलाई सधैँ भन्ने गर्नुहुन्छ, जीवनकाे सबैभन्दा संवेदनशील अवस्था विद्यार्थी जीवन हाे र कहीँकतै मलाई पनि त्याे कुरा महसुस भएको छ । विद्यार्थी जीवन भनेकाे भविष्य निर्धारण गर्नका लागि सुरु गरिने सुनाैलाे यात्रा हाे । विद्यार्थी जीवन त्यति सजिलाे छैन, जति हामी भन्छाैँ अनि त्यति कठिन पनि छैन जति हामी साेच्छाैँ तर याे समय सङ्घर्षकाे समय भने पक्कै हाे । भन्नूकाे मतलब विद्यार्थी जीवन सबै धारणा र पक्षबाट हेर्दा असीमित रमाइलो पनि त्यहीँ भेटिन्छ अनि अनगिन्ती समस्या पनि त्यसैमा देखिन्छन् । मिलाएर भन्दा यतिखेरकाे समय अर्थात् विद्यार्थी जीवनकाे समय तपस्या गरेको भन्दा कम पक्कै हुँदैन ।

अध्ययनतर्फ राख्नुपर्ने रुचि, समयकाे मार्गमा भेटिने खराब सङ्गतबाट बच्नुपर्ने आँट र आफ्नाे ज्ञानलाई बढाइराख्नु गर्नुपर्ने कडा साधना अनि त्यस अवधिभर गर्नुपर्ने दुःख, पीडा, अभावजस्ता बाधाहरू सामना गर्नुपर्छ र मलाई लाग्छ त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुराकाे आवश्यकता पर्छ र त्यो हाे तपस्वीमा जस्तो  हुनुपर्ने धैर्य ।

विद्यार्थी जीवन नै सङ्घर्षकाे मैदान भएकाले सकेसम्म बुझेर र आफू अनुकुलकाे बाटाे निर्धारित गर्न सकियाे भने सकरात्मक मार्ग अवश्य नै प्राप्त गर्न सकिन्छ । वास्तवमा हाम्राे विद्यार्थी जीवन कुमालेले बनाउने माटाकाे भाँडाेजस्तै हुन्छ, जसलाई जस्तो आकार दियो, त्यस्तै बन्न पुग्छ । तसर्थ हामी घुलमिल हुने वातावरण पनि सकरात्मक ऊर्जा दिलाउने हुनुपर्छ ।
हामी सबैलाई थाहा नै छ विद्यार्थी जीवनकाे उमेर धेरै अनुभव बाेकेकाे त पक्कै हुँदैन त्यसकारण पनि हामी कतिपय गलत कुराहरूलाई ठिक छ भनिरहेका हुन्छाैँ । आफ्नाे परिवारभन्दा साथिहरूकाे साथ प्याराे लाग्ने समय भएकालेे सही साथीकाे पहिचान गर्ने विचार भने पक्कै आफूले नै गर्नु अत्यन्तै जरुरी छ । अहिलेेकाे समयमा विद्यार्थीहरू  कतिपय खराब साथीसङ्गतका कारण नराम्रा गतिविधिमा लागेका घटना हामीले धेरै सुनिरहेका हुन्छौँ, तसर्थ हामी विद्यार्थी नै यसबारे राम्रोसँग साेच्न जरुरी छ ।

विद्यार्थी जीवन सिकाइकाे पहिलाे पाठशाला हाे, जहाँबाट हामीले जीवन सफल बनाउने तरिका सिक्छाैँ । सिकाइकाे पहिलाे खुट्किलाे भएकाले हामीले याे समयमा कतिपय कुराहरूकाे सही र गलत छुट्याउन सकिरहेका हुँदैनाैँ, जसका कारण कतिपय मानिसहरू गलत बाटाेमा लागिरहेका हुन्छन् । विद्यार्थी जीवनमा अनुशासन अर्काे अत्यन्तै आवश्यक कुरा हाे । भनिन्छ, अनुशासनबिनाको जीवन र लगामबिनाकाे घाेडा एउटै हुन्छ, जसले केवल विनाश मात्रै गर्छ ।

तसर्थ तपस्वी जीवनजस्तो विद्यार्थी जीवन हुन सक्याे भने जीवनमा सफलताकाे शिखरमा एक दिन अवश्य पुगिन्छ भन्नेमा दुई मत छैन ।