Logo

Student Corner

स्वस्थ जीवनका लागि व्यायाम

Written by: Binaya Rijal - 2022020, Grade XI

Posted on: 23 June, 2021

जीवन सबैका लागि अमूल्य छ । यो अमूल्य जीवनको माया सबैलाई हुन्छ । मानव जीवन सार्थक बनाउन प्रथमत: स्वस्थ रहनुपर्छ । स्वस्थ मान्छेले मात्र सपना देख्न पाउँछ र त्यो सपना पुरा गर्ने क्षमता राख्दछ । अस्वस्थ व्यक्तिले केवल रोगको निवारण गर्ने उपायहरू सोच्छ तर स्वस्थ व्यक्तिलाई त्यस कुराको केही चिन्ता हुँदैन । यसकारण मानिसले स्वस्थ जीवन जिउन प्रयत्न गर्नुपर्छ । हाम्रो जीवन स्वस्थ राख्न व्यायाम आवश्यक छ । हुन त स्वस्थ जीवनका लागि अन्य वस्तुहरूको पनि ख्याल राख्नुपर्दछ तापनि व्यायामबाट नै पूर्ण तन्दुरुस्तीको जीवन प्राप्त गर्न सकिन्छ ।

स्वस्थ जीवन भन्नाले शारीरिक रूपमा तन्दुरुस्त भई मानसिक रूपमा पनि तन्दुरुस्त रहनु हो भन्ने बुझिन्छ । व्यायाम गर्नाले मानिस मानिसक, शारीरिक एवं मानसिक रूपमा तन्दुरुस्त रहन सक्छ । व्यायाम गर्नाले शारीरिक मांसपेशीहरू सन्तुलनमा रहन्छन् र रगतको सञ्चालन पनि सन्तुलित रहन्छ । व्यायाम भन्नाले केवल उफ्रनु मात्र होइन तर नियमितरूपमा अथवा समय समयमा खेल खेल्नु पनि शारीरिक व्यायाम अथवा शरीरका लागि व्यायाम हो । वास्तवमा व्यायाम गर्नाले शरीर सदैव फुर्तिलो रहन्छ र रोगहरूसँग लड्ने क्षमता पनि बढ्दै जान्छ ।  नियमित व्यायाम गरेका कारण मानिसहरू भयानक रोगबाट बच्न सफल भएका छन् । खास गरी मानिस बिरामी पर्ने कारण आहारविहार असन्तुलित हुनु हो । यस्तो अवस्थामा मानिसमा जाँगर घट्दै जान्छ र रोगका कीटाणुहरूले सजिलै शरीरलाई आफ्नो वशमा पार्दछन् । यही कारण मानिसहरू बिरामी पर्दछन् । 

दैनिक सबेरे उठेर व्यायाम गरेमा मानिसको शरीर फुर्तिलो रहन्छ र जाँगर बढेर अल्छीपन घट्दै जान्छ । वास्तवमा व्यायामको अभावकै कारणले गर्दा आज विश्वका थुप्रै मानिसहरू भयानक रोगहरूको सिकार बन्न पुगेका छन् ।  ग्यास्ट्रिक, हाडजोर्नी, मधुमेहजस्ता समस्या व्यायामकै अभावले गर्दा भएका हुन् । मानिसहरू खानपिनमा त्यति ख्याल राख्दैनन् र जे, जति सकिन्छ, त्यति खान्छन् । खानाको सन्तुलन नमिल्दा शरीर रोगी बन्दछ तर नियमित व्यायाम गरेमा पाचन शक्ति बढ्दछ र शरीर स्वस्थ रहन मद्दत पुग्दछ ।  खानाको सन्तुलन मिले मात्र पनि व्यक्ति स्वस्थ रहन सक्दछ ।