Logo

Student Corner

कोभिड - १९ को डरले के हाम्रो मनोविज्ञान परिवर्तन भइरहेको छ ?

Written by: Binayak Kumar Mahato - 22025, Grade XI

Posted on: 21 June, 2021

जसरी हाम्रो सोचाइमा केही समयदेखि कोरोना भाइरस बसिरहेको छ, त्यसरी यति लामो समयसम्म सायदै अन्य कुनै रोगको खतरा बसेको थियो होला । केही सातादेखि हरेक अखबारका प्रथम पृष्ठहरू कोरोना भाइरस महामारीकाे खबरले भरिएका छन् । रेडियो र टेलिभिजनले कोरोना भाइरस सङ्क्रमण र मृत्युकै खबरहरू दिइरहेका छन् ।
 
सामाजिक सञ्जालमा कोभिड - १९ महामारीबारे डरलाग्दा तथ्याङ्क, व्यावहारिक सुझाव र ठट्टाहरूले भरिएका छन् । कोरोना भाइरसबारे जुन खालका जानकारीहरूको बाढी आएको छ । त्यसले चिन्ता बढाएको छ र प्रत्यक्ष रूपमा हाम्रो मानसिक स्वास्थ्यमा असर पारिरहेको छ । यसरी सधैँ त्रास सिर्जना हुँदा हाम्रो मनोविज्ञानमा क्रमश: नकारात्मक प्रभावहरू पर्न सक्छन् । रोगप्रति हाम्रो सोच गहिरो हुँदै जाँदा त्यसले हामीलाई रूढिवादी बनाइदिन्छ । हाम्रो सामाजिक दृष्टिकोण पनि पिछडिएको हुन्छ ।
 
यसले हाम्रो राजनीतिक झुकावलाई पनि प्रभावित गर्न सक्छ । लैङ्गिक समानता तथा स्वतन्त्रताबारे हाम्रो नैतिक धारणा कठोर बन्छ र सामाजिक व्यवहार थप अनुदारवादी बन्न पुग्छ । हालैमा आएका विदेशीहरूलाई मन नपराउने प्रवृत्तिसम्बन्धी खबरहरूलाई त्यसको पहिलो सङ्केतका रूपमा लिन सकिन्छ तर यसबारे वैज्ञानिकहरूले गरेका अनुसन्धानहरू सही साबित भए भने आगामी दिनमा विश्वमा ठुलो मनोवैज्ञानिक र सामाजिक परिवर्तन हुने छ । मानव मनोविज्ञानलाई जस्तै रोगप्रतिका यी प्रतिक्रियाहरूलाई पनि हामीले ऐतिहासिक अवस्थाका आधारमा बुझ्नुपर्छ ।
 
आधुनिक चिकित्साको जन्म हुनुपूर्व सरुवा रोगहरू हाम्रो अस्तित्वका लागि सबैभन्दा ठुला खतरा हुन्थे । त्यसबेला जसको प्रतिरक्षा प्रणाली बलियो हुन्थ्यो उनीहरू बाँच्थे । खासमा प्रतिरक्षा प्रणालीमा त्यस्ता रोग फैलाउने जीवाणुहरूलाई मार्ने क्षमता हुन्छ । दुर्भाग्यवस त्यो प्रतिक्रियापश्चात् हामी धेरै निद्रा महसुस गर्छौं र गल्छौँ । त्यसैले हाम्रा रोगी पुर्खाहरू आवश्यक कार्य गर्न असक्षम हुन्थे, जस्तो कि सिकार गर्न, खानेकुरा जम्मा गर्न वा बच्चा जन्माउन ।
 
बिरामी हुनु भनेको मनोवैज्ञानिक रूपमा पनि निकै महँगो पर्ने कुरा हो । उदाहरणका लागि ज्वरो आउँदा शरीरको तापक्रम बढ्नु भनेको प्रतिरक्षा प्रणालीको आवश्यक प्रतिक्रिया हो तर त्यसले शरीरको ऊर्जा खपत १३ प्रतिशतले बढाउँछ । जुन बेला खानेकुरा पाउन मुस्किल थियो, त्यस बेला यो निकै ठुलो चुनौती हुन्थ्यो ।