Logo

Student Corner

पर्यावरणीय समस्या

Written by: Diya Shrestha - 2022032, Grade XI

Posted on: 20 June, 2021

पर्यावरणीय भन्नाले हाम्रो वरिपरि फैलिएको वा रहेको हावासँग सम्बन्धित हो । यसरी हाम्रो वरिपरि फैलिएको वा रहेको हावामा देखिएको समस्यालाई पर्यावरणीय समस्या भनिन्छ । प्रकृति र पर्यावरण मानव जीवनसँग प्रत्यक्ष सम्बध राख्ने विषय मानिन्छन्, त्यसैले पर्यावरणीय समस्या सिर्जना गर्ने काममा आज मान्छे नै अग्रपङ्क्तिमा देखापर्छ ।
 
आज पर्यावरणलाई प्रदूषित गर्ने काममा मान्छेको प्रमुख भूमिका रहेको छ । आजको मान्छेले प्राकृतिक साधन र स्राेतको प्रयोगमा विवेक पुर्याउन छोडेको छ । मानिसले आफ्ना सुख र सुविधाका लागि गर्ने क्रियाकलापले वातावरण प्रतिकूल बन्ने गर्छ । मानिसले प्राकृतिक स्राेत र साधनमा विवेक नपुर्‍याउँदा यसबाट प्रतिकूल स्थितिको सिर्जना हुने अवस्था आउँछ । मनिसका अविवेकी क्रियाकलापले प्राकृतिक स्राेत र साधनमा विकृति उत्पन्न हुन्छ र यस्तो अवस्थामा भूक्षय, बाढी, पहिरोजस्ता थुप्रै समस्याहरूको सामना मानिसले गर्नुपर्ने हुन्छ । वातावरण प्रदूषित हुनुमा बढ्दो जनसङ्ख्या मुख्य समस्याका रूपमा देखिन्छ । जनसङ्ख्याको वृद्धिसँगै वनविनाशको गति तीव्र बन्छ । त्यसैगरी उद्याेगधन्दा, गाडी आदिले फ्याँक्ने धुवाँले वातावरण अत्यन्त प्रदूषित बन्ने गर्छ । यसैको परिणाम भूक्षय, बाढी, पहिरो, धनजनको क्षति, अतिवृष्टि, अनावृष्टिजस्ता समस्याहरू देखा पर्छन् । प्राकृतिक सौन्दर्यको विनाशसँगै हिमालहरू पग्लन थाल्छन् । हिमालहरू पग्लेर त्यहाँबाट बगेको चिसो पानी समुद्रमा जान्छ । यति मात्र होइन, पानीका मुहानहरू सुक्न थाल्छन् अनि विभिन्न रोगका प्रकोपहरू फैलिएर स्थिति भयावह हुन्छ । यस्तो बेला मानिसलगायत सम्पूर्ण जीवजन्तुको अस्तित्व सङ्कटमा पर्छ ।
 
मानिस एउटा विवेकशील प्राणी हो । मानिसले अहिले धेरै प्रगति गरेकाे छ, त्यही प्रगतिको दुरुपयोग वा धेरै प्रयोग गर्नाको कारणले पनि पर्यावरणीय समस्या आएको हो । प्रकृति र पर्यावरण एकअर्का र मानव जीवनका लागि एकदम महत्त्वपूर्ण छन् । प्रकृतिको विनाशले आफ्नै विनाश गर्छ भन्ने बुझेर मानिसले पाइला चाल्नु जरुरी छ । पर्यावरणलाई जाेगाउन मानिसले आफैँ सचेत नभए काे भइदिन्छ ? मान्छेले नै जनस्तरमा चेतना फैलाएर स्वच्छ, सफा र हराभरा वातावरणमा जोड दिन सकेकाे खण्डमा मानवलगायत सम्पूर्ण जीवको कल्याण हुने कुरामा दुई मत रहन्न ।