Logo

Student Corner

लकडाउनको दोस्रो चरणमा मेरो जीवन

Written by: Safal Gautam - 22016, Grade XI

Posted on: 17 June, 2021

घरमा बस्दा बस्दा हामी सबैलाई झ्याउ र नरमाइलो लाग्न थाल्यो होला । लकडाउनको पहिलाे चरण सकिएकाे लगभग ३ महिनापछि हामी जहाँबाट खुसी हुँदै बाहिर आयाैँ, त्यतै फर्कनुपर्यो । लकडाउनको दोस्रो चरणमा मेरो जीवन बिरामी भएर सुरु भयो । पहिलै नै बिरामी थिएँ म । रक्तचाप न्यून थियो, टाउको दुखिरहेकाे थियाे अनि ज्वरो आइरहेकाे थियाे तर एक हप्तामा यो सब ठिक हुँदै गयो र मेरो निरस र झ्याउलाग्दाे जिन्दगीको सुरुवात भयो । 

अनलाइन क्लास सुरु भएपछि मेरो जीवन ४ कुरामा घुमिरह्यो । बिहान कक्षा सुरु हुन लाग्दा उठ्ने, खाना खाने, केही नगर्ने, पढ्ने अनि सुत्ने । केही गराैँ गराैँ लाग्दा एकैछिनमा झ्याउ लाग्थ्यो मलाई । लकडाउन नहुँदा मैले अनलाइन उपन्यास लेख्थेँ । अब त्यो पनि छोडिसकेको अबस्थामा आइपुगेको छु । साथीहरूसँग एकछिन खेल खेलेको मात्र होला नयाँ कुरा मैले गरेको । 

कहिलेकाहीँ समाचार हेर्दा नरमाइलो कुरा मात्र देखिन्छ । कहिले कसलाई के समस्या पर्छ, कहिले राजनीतिमा के हुन्छ, कहिले के नयाँ भाइरस फेला पर्छ । फुटबलमा केही रमाइलो होला भनेर हेर्दा आफ्नो मन परेको टाेलीले खेल हार्छ । 

घर पालुवा जनावरसित खेलाैँ न त भन्दा पनि एकछिनमै कति खेल्नुजस्ताे हुन्छ । घरपरिवारका सदस्यहरूसँग बोलाैँ भन्दा पनि कति बोलाैँजस्तो हुन्छ । हुँदा हुँदा एक दिन त खाना खाँदा पनि कति खाऊँजस्ताे होला भन्ने सोचमा बसिराख्थेँ म । केही काम नपाएर फेरि त्यही कोठाभित्र मोबाइल र ल्यापटप चलाएर बसिराख्थेँ ।    

यसरी नै १ महिना बित्यो । अब त भएन भनेर परीक्षाको लागि पुरै ध्यान दिन थालेँ । परियोजना कार्य, गृहकार्य र  पढाइसँगै मेरा अहिलेका दिनहरू बितिरहेका छन् । घर पुरै बरखीको लागि बदलिरहेको भएर आफैँ नयाँ कार्य गर्न थालिरहेको छु । पहिले गरेर अधुरै छाडेका कामहरू पनि फेरि थाल्न लागेको छु । 

बिरामी भएर ठिक भएँ भनेको त अझै बिरामी नै रहेछु, नत्र त किन त्यसरी झ्याउलाग्दाे पारामा जिन्दगी बिताएँ मैले ? अब भने ठिक हुँदै गएकाे रहेछु । नयाँ कार्य गर्दै यो झ्याउलाग्दाे जीवनलाई रमाइलो बनाउँदै जाँदा थाहा पाएँ मैले ।