Logo

Student Corner

तितो सत्य

Written by: Ishu Shiwakoti - 22009, Grade XI

Posted on: 27 May, 2021

कसैको मन्जुरीबिना उसलाई डराएर, धम्काएर, जबरजस्ती गर्ने र उमेर नपुगेका बालबालिकाहरूलाई फकाई, मञ्जुरी लिई वा नलिई गरिने कामलाई बलात्कारकै रूपमा लिइन्छ ।  आजकल हाम्रो देशमा यी घटनाहरू तीव्र गतिमा बढिरहेक छन् । नेपालको कानुन अनुसार यस्तो काम गर्ने व्यक्तिलाई कडा सजाय हुनुपर्छ । निर्मला हत्या काण्ड भएको यो साउनमा ३ वर्ष पुग्छ ।  तर अहिलेसम्म अपराधी भेटिएको छैन । के यही हो जनताको अधिकार ? 

बेलुका ७ बजेपछि हाम्रा नेपाली चेलीबेटीहरूले आफूले आफूलाई घरबाट बाहिर सुरक्षित महसुस गर्दैनन् । इतिहासको पाना पल्टाएर हेर्ने हो भने प्रत्येक देशका सीमारेखाहरू त्यहाँका युवा र युवतीको रगतबाट कोरिएका हुन्छन् । प्रस्ट रूपमा भन्ने हो भने युवाहरू नै देशको गहकिलो जिम्मेवारी बोक्न तत्पर हुनुपर्ने हो । अब आवश्यकता केवल एक मस्तिष्कको छ, जहाँ बलात्कारी मुक्त नेपालको कल्पना गर्न सकिन्छ । एक पवित्र मनको छ, जहाँ देशभक्तिको वास हुन्छ र दुई पाइलाको छ, जसले समृद्धिको नयाँ कदम चाल्दछ । यदि यही कुरा सबैले मनन गर्ने हो भने हाम्रो देश विकास भएर सफलताको शिखरमा पुग्ने छ । यदि यही कुरा सबै युवाहरूले बुझ्ने हो र देशभक्त बन्ने हो भने हाम्रो देश नेपालको नाम विश्वमै अगाडि आउने छ । 

आफ्नो देशमा भैरहेका गलत घटनालाई बेवास्ता कहिले गर्नु हुँदैन र यसको विरुद्ध आफ्नो आवाज उठाउनुपर्छ । बलात्कृत महिला वा बालिकालाई न्याय दिनुपर्छ । यही नै हाम्रो कर्तव्य हो र हामी हाम्रो जिम्मेवारी वा कर्तव्यबाट कदापि पछि सर्नु हुँदैन ।