Logo

Student Corner

त्रिशूल जात्रा

Written by: Prasun Regmi - 2022028, Grade XI

Posted on: 23 May, 2021

भगवान् पशुपतिनाथ विराजमान पशुपति क्षेत्रलाई  देउपाटन पनि भनिन्छ । देउपाटन अर्थात् पशुपति क्षेत्रमा बच्छलेश्वरी जात्रा, शिवरात्रि, बालाचतुर्दशी, गङ्गामाई जात्रा,  टिक्किछा जात्रा, त्रिशूल जात्रा, नवदुर्गा जात्रा, जनै पूर्णिमा, रोपाइँ जात्राजस्ता विभिन्न जात्राहरू मनाइने गरिन्छन् । 

यी जात्राहरूमध्ये त्रिशूल जात्रा एउटा छुट्टै रूपमा मानाइने जात्रा हाे । त्रिशूल जात्रामा दस वर्षभन्दा मुनिका बच्चाहरूलाई खटमा उत्तानो पारेर राखेर घुमाइन्छ । यो जात्रामा विशेष  गरेर महर्जन अथवा डङ्गोल जातिका बच्चाहरूलाई घुमाउने गरिन्छ । यो जात्रा गर्नुमा पनि एउटा रोचक किंवदन्ती छ । उहिले उहिले राक्षसहरू तल कालोपुलबाट सिफल चउरमा आएर खेल्ने गर्थे रे । यसरी खेल्न आउने राक्षसहरूले पशुपति क्षेत्रका बच्चाहरू मारेर खान्थे  रे । यस्तै गरी राक्षसहरूले जहिल्यै आएर बच्चा खान थाले र अति धेरै नै भएपछि यहाँका बासिन्दाहरूले पनि सल्लाह गरेर कसै गरी भए पनि ती राक्षसका बच्चाहरू समातेर  उनीहरूलाई सवक सिकाउने भनेछन् । अनि यहाँका बासिन्दाहरूले ती राक्षसका बच्चाहरूलाई समातेर त्रिशूलले पेटमा घोपेर खटमा राखेर ती राक्षसहरूकाे ठाउँमा पुर्याए रे । त्यसपछिबाट ती राक्षसहरूले दु:ख दिन छोडे भन्ने किंवदन्ती छ । 

त्यस किंवदन्तीअनुसार आज पनि जात्रामा तीनजना बच्चाहरूलाई खटमा उतानो पारेर पेटमा त्रिशूल आकारका साङ्केतिक त्रिशूल रोपेर खटमा राखेर सिफल चौरदेखि तल पिपलबोटसम्म लगेर घुमाएर त्यहाँबाट पशुपति भुवनेश्वरसम्म जात्रा गर्दै बाजागाजासहित धुमधामले मनाइन्छ । यो जात्राको आर्को रमाइलो पक्ष भनेको यो जात्राको खट घुमाइन्जेल सहरवासीहरूलाई गाली गर्ने परम्परा पनि छ । यो गाली अलि अश्लील त हुन्छ तर मान्छेहरू यसमै रमाई हाँसिरहेका हुन्छन् किनकि यो हाम्रो परम्परा हो । 

त्रिशूल जात्रा आषाढ महिनाको कृष्णपक्षका अष्टमीको दिनमा मनाइन्छ । यो जात्रा हुनुभन्दा  चार दिनअघि नै जात्रामा सहभागी हुने बालकहरूलाई नुहाईधुवाई चोखो गरी गुफा राखेको जस्तै गरी जयवागीश्वरीकाे त्रिशूल जात्रा निकाल्ने सत्तलमा थुनेर राखिन्छ । चार दिनपछि  उक्तः बालकहरूलाई सिँगारपटार गरी राम्रो बनाई खटमा राख्छन् । खटमा राख्दा पनि बच्चाहरूलाई झ्यालबाट बाहिर सिधै खटमा बाँध्छन् । यसरी तीनजनै बच्चाहरूलाई पालैपालो झ्यालबाट निकालेर खटमा बाँधिसकेपछि बाजागाजासहित जात्रा अघि बढाइन्छ ।