Logo

Student Corner

जीवन काँडा कि फूल

Written by: Simon Sangat - 2022019, Grade XI

Posted on: 20 May, 2021

‘जीवन काँडा कि फूल’ नामक पुस्तककी लेखिका झमककुमारी घिमिरे हुन् । उनको जन्म विक्रम संवत् २०३७ असार १ गते धनकुटा जिल्लाको कचिँडे गाउँमा भएको हो । पिता श्रीकृष्णबहादुर र माता आशादेवी घिमिरेको प्रथम सन्तानका रूपमा उनले यस धर्तीमा पाइला टेकेकी हुन् । जन्मजात पक्षघात रोगबाट पीडित उनले जीवनमा थुप्रै सङ्घर्ष र दु:ख भोग्नुपर्‍यो । उनका जीवन काँडा कि फूललगायत आफ्नै चिता अग्निशिखातिर, पर्दा, समय र मान्छेहरूजस्ता थुप्रै पुस्तकहरू प्रकाशित छन् । उनका रचनाहरूमा नेपाली सामाजिक संस्कार र तीनका खराब पक्षहरूमाथि औँला उठाएको पाइन्छ । ‘जीवन काँडा कि फूल’ मदन पुरस्कार जित्न सफल पुस्तक हो ।  

यो पुस्तक झमककुमारी घिमिरेद्वरा लिखित एक आत्मजीवनीपरक निबन्ध हो । यसको सुरुवात उनका बाल्यकालका सम्झनाहरूबाट हुन्छ । यसमा उनले समस्याग्रस्त बाल्यजीवन र अक्षर चिन्न तथा लेख्न गरेको सङ्घर्षलाई उतारेकी  छिन् । धुलो फुकेर 'क' लेखेको र बिस्तारै गोडाका  बुढी र चोर औँलाले च्यापेको सिन्काले धुलोमा लेख्ने अभ्यास गर्दै आफ्नो तरिका, युक्ति, कडा साधनाले नै अक्षर लेख्न सिकेको कुरा बताएकी छिन् । उनले आफ्नो जीवनका तिस वर्षसम्मका अनुभवहरू यहाँ वर्णन गरेकी  छिन् । झमकलाई पनि आफ्ना भाइबहिनीहरूले जस्तै कजगमा पेन्सिल वा कलमले लेख्न मन लाग्थ्यो । रातभर घाँसमा परेको शीत बिहान कचौरामा बटुलेर त्यसमा गोडाको औँला ढुङ्गामा घोटेर रगत बग्थ्यो तर उनी त्यसका पर्वाह गर्दैनथिन् । दिदीको प्रयासमा बहिनी मिनाले पनि पुराना कापी र पेन्सिल सुटुक्क दिएर आत्मबल बढाइदिइन् । यसरी उनी गोडाको बुढी औँला र चोर औँलाले पेन्सिल च्यापेर कापीमा लेख्न थालिन् । यसकाे बारेमा पनि उनले आफ्नो बहुचर्चित पुस्तक ‘जीवन काँडा कि फूल’ मा वर्णन गरेकी छिन् ।  

शिक्षालयमा कहिल्यै पाइला नहालेकी झमकले लेखेको यो पुस्तक धेरै स्तरीय र बौद्धिक चिन्तनयुक्त छ । जन्मजात मस्तिष्क पक्षघात रोगबाट पीडित उनले आफूलाई अरूजस्तै सक्षम बनाउन निकै सङ्घर्ष गर्नुपरेको कुरा बताएकी छिन् । अरूको कुरा सुन्ने र बुझ्ने झमक कसैलाई मुखले जवाफ दिन सक्दिनन् । उनलाई साहित्यिक क्षेत्रमा चर्चित बनाउन उनको परिवारका तीन नारीको महत्त्वपूर्ण भूमिका छ । ती तीन नारीहरू उनकी आमा, हजुरआमा र बहिनी हुन् । उनले जीवन काँडा कि फूलमा सबैको चर्चा गरेकी छन् । यसरी यस किताबमा उनका जीवनका सुखदु:खको चित्रण गरेको पाइन्छ ।  

याे पुस्तकले हामीलाई जीवनको सही परिभाषा सिकाउँछ । अत: यो किताब सबैले एकचाेटि पढ्नैपर्छ ।