Logo

Student Corner

सूचना प्रविधिको महत्त्व

Written by: Shreejal Khatri - 2022024, Grade XI

Posted on: 29 April, 2021

आवश्यक खबर सम्बन्धित सबैलाई थाहा दिने वा दिनका लागि पठाइएको वा टाँसिएको पत्रलाई सूचना भनिन्छ । प्रविधि भन्नाले कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया बुझिन्छ । महत्त्व भन्नाले त्यसको विशेषता बुझिन्छ । वर्तमान विश्वमा सूचना प्रविधिको महत्त्व व्यापक रूपमा बढ्न पुगेको छ । 

संसारको कुनै पनि ठाउँमा भएका घटना आदिका विविध सूचना संसारभर फैलाउने माध्यम सूचना प्रविधि हो । अहिलेको विश्वमा सूचनाको निकै महत्त्व रहेको छ पहिले पहिलेको जमानामा विज्ञानमा त्यति विकास नआएकाले सूचना प्रविधि धेरै थिएन तर अहिले टेलिभिजन, रेडियो, मोबाइल, इन्टरनेटद्वारा सूचना सजिलैसँग दिन र पाउन सकिन्छ । सूचनाले हाम्रो जिन्दगी धेरै सजिलो पार्दछ । केही महत्त्वपूर्ण कुरा छ अथवा केही आवश्यक कुराहरू छन् भने सबैको कानमा पुर्याउनको लागि सूचना प्रविधिले धेरै सहयोग गर्दछ । अहिलेको समयमा कम्प्युटरले गर्दा सूचना दिन निकै सजिलो भएको छ । मानिसले दुनियाँको कुनै पनि कुनामा बसेर यो विश्वमा के-के घटनाहरू घटिरहेका छन् भनेर जानकारी पाउन सक्छ । इन्टरनेट एकदमै राम्रो प्रविधि भए पनि केही मानिसहरूले याे प्रविधिकाे दुरुपयोग गर्ने गर्दछन्, जस्तैः नक्कली खबर वा सूचनाहरू इन्टरनेटमा हाल्दछन्, जसले गर्दा समाजमा निकै ठुलो भ्रम सिर्जना हुने गर्दछ । 

त्यसैले यो समय भनेको सूचना प्रविधिको समय हो । मानिसहरू यस विद्युतीय सञ्जालबाट आफ्नो कामदेखि लिएर अनेक सूचनाहरू लेनदेन गर्ने भएका छन् । यसको महत्त्व यसैले पनि झन् बढ्दै गएको छ । एक कोठामा बसेर संसारको कुनै पनि कुराको खबर वा जानकारी राख्न सकिने हुनाले मात्र होइन, आजको यस व्यस्त युगले नै ल्याएको यस प्रविधिबाट ताढा कोही पनि रहन नसक्ने हुनाले नै सूचना प्रविधिको महत्त्व झन् झन् बढ्दै गइरहेको छ ।