Logo

Student Corner

अन्धकार

Written by: Kabin Rijal - 22010, Grade XI

Posted on: 26 April, 2021

कालो कोठाको त्यो सानो कुनामा गुटुमुटु भएर बसिरहेको थिएँ । कतैबाट पनि मेरो मनलाई चित्त बुझेको थिएन । मेरो मन आत्तिएको थियो, डराएको थियो । कति कति बेला कुनै अग्लो ठाउँबाट तल खसेको जस्तो लाग्थ्यो र कुनै बेला यस्तो लाग्थ्यो कि मलाई केही कुराले थिचिरहेको छ, जसबाट म बाहिर निस्किन सकेको छैनँ l मेरो वरिपरि केही थिएन, थियो त केवल अन्धकार l बिस्तारै म उठेर त्यो सानो कुनाबाट अलिकति अगाडि बढेँ । १/२ पाइला अगाडि बढेपछि सानाे दुलोबाट एउटा उज्यालोको प्रकाश आयो । मैले कसो कसो गरी त्यो कोठाको ढोकासम्म पुगेर ढोका खोलेँ  l ढोकाकाे पछाडि एकदम अचम्मको दृश्य थियो l त्यो ढोका मेरो घरको छतको ढोका रहेछ l मेरो घरको छतमा मान्छेको हुल थियो मानौँ दसैँ नै थियो । केही समय त्यो दृश्यलाई हेरेर म त्यो हुलमा मिसिन पुगेँ l अचानक मेरो हातबाट एउटा मान्छे छतबाट खस्यो l

यो घटना कसरी भयो भन्ने मसँग कुनै पनि जवाफ थिएन l यो घटना भइसकेपछि सबैजना मेरो विरुद्धमा लागे । म पुरै होसमा थिइनँ l अचानक सबैजनाले मलाई आक्रमण गर्न थाले । म आत्तिएर त्यो ठाउँबाट भागेँ l कसो कसो गरी मूल सडकसम्म निस्किएँ । बाहिरको दृश्य पनि एकदमै अनौठो थियो । मलाई कुनै कुरा पनि सामान्य जस्तो लागिरहेको थिएन l अचानक मलाई ती अघिका मान्छेले फेरि लखेट्न थाले । म चिच्याउँदै आत्तिँदै भाग्न थालेँ । कतैबाट मेरो कानमा ‘कबु ! कबु !’ भनेर आवाज आयो । म सपनाबाट बिउँझेँ । मेराे जिउभरि पसिनैपसिना थियो र मन एकदम डराएको थियो l

निद्राबाट बिउँझिएपछि मैले त्यो सपनाबाहेक अरू केही सोच्नै सकिनँ । मैले त्यसभन्दा पहिला कहिले पनि त्यस्तो किसिमको सपना देखेको थिइनँ । त्यो सपनालाई लिएर ममा एकदमै उत्सुकता बढ्यो । मलाई अझै त्यो सपनाको बारेमा जान्न मन लाग्यो l मैले यो सपनाको बारेमा अनुसन्धान गर्दा आफ्नो बारेमा कालो सत्य थाहा पाएँ l मैले आफूले आफूमाथि नियन्त्रण गुमाउँदै रहेछु, जीवनको बाटोबाट हराइरहेको रहेछु l