Logo

Student Corner

हामी नेपाली हौँ

Written by: Ishu Shiwakoti - 22009, Grade XI

Posted on: 20 April, 2021

नेपाली भनेको नेपालमा बस्ने मानिस वा नागरिक हो । हामी नेपाली हाम्रो नेपाललाई अङ्ग्रेजबाट मुक्त गराउन सफल भएका महान् योद्धा हौँ । हामी नेपालीको मनमा स्वार्थ र घमण्डको भावना छँदै छैन किनभने हामी नेपालीहरू अनेक भेष, अनेक भाषा, अनेक धर्म र अनेक जातबाट बनेका छाैँ । रिस, राग, कपट र छल गर्न हामीलाई कहिले आएन । हामी सत्य र धर्मको बाटो हिँड्छौँ । हाम्रो देश स्वर्गझैँ सुन्दर र चद्रमाझैँ चम्किलो छ । हामी नेपाली एकतामा बसेर हरेक काम गर्छौं र सफलता प्राप्त गर्छौं ।

हाम्रो देशको माटामा एकपछि अर्का महान् व्यक्तिको जन्म भइरहेको हुन्छ । जस्तै : पृथ्वी नारायण शाह, भक्ति थापा, बलभद्र कुँवर आदि । उनीहरूले देशका लागि ठुला ठुला योगदान दिएर गएका छन् ।  हामी नेपालीहरू पनि उनीहरूको सन्तान हौँ र त्यसै कारणले हामीले पनि देशका लागि केही न केही गर्नुपर्छ । हाम्रो देशमा वीर गोर्खालीहरूको जन्म भएको थियो । उनीहरूले शत्रुहरूलाई पराजित गरेर हाम्रो देशलाई जोगाएका हुन् । उनीहरूको जस्तै हामीले पनि आफ्नो प्राणको चिन्ता नगरी देशलाई हरेक परिस्थितिबाट बचाउनुपर्छ, आफ्नो देशलाई ज्यान दिन पनि हिच्किचाउनु हुँदैन । हामी नेपालीले नेपाललाई विकासतर्फ लानुपर्छ । हामी नेपालीले कर्म मात्र गर्नुपर्छ, फलको अपेक्षा गर्नु हुँदैन । हामी नेपाली, वीर गोर्खालीले हार मान्दैनौँ र गौतम बुद्धको शिक्षालाई चारैतर्फ फैलाउँछौँ । हामी नेपालीले आफ्नो ज्ञानले सबैलाई पवित्र बनाउनुपर्छ । हामी नेपालीले दु:खमा परेका हरेक मानिसलाई सहयोग गर्छौं र गरिबलाई खाना, कपडा, घर आदिकाे व्यवस्था सकेसम्म गरिदिन्छौँ । हामी नेपाली दयालु छौँ र परिश्रम गरी हरेक काम गर्छौं । यो ज्ञान हामीले हाम्रा पुर्खाहरूबाट सिक्दै आइरहेका छौँ र पछिल्लाे पुस्तालाई पनि यही सिकाउनुपर्छ । 

हामी नेपालीले एकतामा बसी देशमा परेको हरेक समस्यालाई समाधान गर्छौं । नेपाल आमालाई पिर परेको बेला हामी सहयाेगका लागि अगाडि बढ्छौँ र देशलाई सङ्कटबाट मुक्त गर्छौं । हामीले आफ्नो देशलाई दियोजस्तै सधैँभरि उज्यालो राख्छौँ । त्यसैले हामीले आफ्नो कर्तव्यलाई सधैँ पुरा गर्नुपर्छ र देशलाई स्वर्ग झैँ सुन्दर बनाउन सक्नुपर्छ । हामी नेपाली अरूको भर पर्दैनौँ । हामी आफूले नै आफ्नाे कर्म गरी आफ्नो घरपरिवारलाई पाल्छौँ र देशलाई सुन्दर र स्वच्छ राख्ने प्रयास गर्छौं ।