Logo

Student Corner

विद्यालयका यादहरू

Written by: Niharika Shrestha - 22022, Grade XI

Posted on: 15 April, 2021

धेरैले भन्छन् कि स्कुल हाम्रो दोस्रो घर हो । म पनि यो कुरासँग एकदम सहमत छु । विद्यालयमा घरमा सिकिनेजस्ता सबै राम्रा कुराहरू सिकाइन्छन् जसबाट जीवनमा अगाडि बढ्न निक्कै मद्दत हुन्छ । विद्यालयमा पढाइ मात्र नभई अनुशासन, धैर्यजस्ता राम्रा गुण पनि सिकिन्छ । विद्यालयमा बिताएका हरेक पलहरू अविस्मरणीय हुन्छन् । यो समय फेरि कहिले फर्केर आउँदैन । मानिसको जीवनमा सबैभन्दा रमाइलो चरण भनेकै विद्यालयमा पढिरहेको बेला हो । यस बेलामा साथीहरूसँग निक्कै सम्झनाहरू बनाइन्छन् जुन जिन्दगीभरि नै याद हुन्छ । यसै गरी मेरा पनि केही यादहरू छन् जुन अझै पनि सम्झिँदा रमाइलो लाग्छ ।

 मैले मेरो जीवनको १३ वर्ष ड्याफोडिल पब्लिक स्कुलमा बिताएकी हुँ । यस १३ वर्षमा मैले निक्कै राम्रा कुराहरू सिकेर धेरै सम्झनाहरू बनाएकी छु । धेरै साथीहरू बनाएकी छु, जो आहिले परिवारजस्तै भएका छन् । ड्याफोडिलले मलाई धेरै कुराहरू सिकाएको छ । हाम्रो प्रिन्सिपलले हामीलाई आफ्नै परिवारजस्तो व्यवहार गर्नुहुन्थ्यो । उहाँले हामीलाई राम्रो काम गरे स्याबासी दिनुहुन्थ्यो र नराम्रो काम गर्दा सुधार्ने मौका दिनुहुन्थ्यो । मैले त्यहाँ पढाइका साथसाथै नैतिक मूल्यमान्यता, खेलकुद र अन्य अतिरिक्त पाठ्यक्रमका गतिविधिहरू सिक्न पाएँ । साथीहरूसँग यति धेरै सम्झनाहरू बनाएँ कि अहिले यहाँ वर्णन गरेर साध्य हुँदैन ।

 कक्षामा गरिएको रमाइलो अझ पनि सोच्दा खुसी लाग्छ । सबैजना हल्ला गरेर शिक्षकहरूको गाली खानु, गृहकार्य नगरेर सजाय पाउनु, साथीहरूलाई जिस्काउनुमा पनि छुट्टै रमाइलो हुन्थ्यो । कक्षाबाहिर गएर कान समात्न त्यो बेला बेइज्जत लागे पनि आहिले सोच्दा रमाइलो लाग्छ । विद्यालयमा कुनै कार्यक्रम नजिक आउँदा कक्षामा नगएर डान्स प्राक्टिस भन्दै बाहिर बस्नुमा पनि छुट्टै रमाइलो हुन्थ्यो । कक्षाको बिचमा अल्छी लाग्दा शिक्षकलाई आफ्नो जीवन कथाको बारेमा भन्न लगाउँदा पनि एकदम रमाइलो हुन्थ्यो । खाना खाने समयमा मासुको दिन हुँदा हामी साथीहरूबिच को छिटो भोजन गृह पुग्ने भनेर प्रतिस्पर्धा हुन्थ्याे । जो छिटो पुग्यो उसले नै सबसे राम्रो मासु पाउँथ्यो । त्यही दिन हुन्थ्याे जब सबैजनाले भात थपी थपी खान्थे । बास्केटबल खेलहरूमा जाँदा पनि धेरै सम्झनाहरू बनायौँ । खेलहरूले गर्दा कहिलेकाहीँ छिटो घर पुगिन्थ्यो । खेलमा नआएका साथीहरूलाई यी कुराहरू सुनाउँदा निक्कै रमाइलो लाग्थ्यो । तर कक्षामा बिताएकाजस्ता राम्रा पलहरू अरू कतै भएनन् । प्रिन्सिपलको अफिसमा गएर गाली खानु पर्दा त्यो बेला नराम्रो लाग्थ्यो तर अहिले ती सबै नै सम्झेर हामी सबै साथीहरू मिलेर हाँस्छौँ । विद्यालयका साथीहरू अहिले भेट हुँदा यी कुराहरू गर्दा निक्कै रमाइलो लाग्छ । विद्यालयमा ७-५ घण्टा बिताए पनि एकछिनमै समय गएजस्तो हुन्थ्याे । स्कुल बसमा पनि निक्कै रमाइला पलहरू बितायौँ हामीले । कहिलेकाहीँ बाटो जाम हुँदा बेलुका नै भइसकेको हुन्थ्याे । यस्तो बेला कहिले घर पुगिएलाजस्तो हुन्थ्याे । परीक्षाहरूको बेला आफूले नपढ्दा त दुःख लाग्छ तर जब साथीहरूलाई "मैले पनि पढेकी छैनँ ।" भन्दा त्यति बेला चाहिँ एक किसिमको छुट्टै मज्जा लाग्थ्यो । गृहकार्य पनि एकजनाले गरेर आउँछ र अरू सबैजनाले हतार हतार सार्नु पर्दा छुट्टै रमाइलो लाग्थ्यो । कक्षामा साथीहरूसँग जिस्केर उनीहरूका ब्याग, पेनहरू लुकाउन पनि एकदमै रमाइलो हुन्थ्याे । बिहान बिहान छिटो उठेर विद्यालय आउनुपर्दा त रिस पनि उठ्थ्यो तर फेरि त्यहाँ पुगेर साथीहरूसँग भेट्दा खुसी हुन्थेँ । कहिलेकाहीँ त विद्यालय जाँदा जाँदा अल्छी पनि लाग्थ्यो र कहिले विद्यालय जाने काम सकिएलाजस्तो हुन्थ्याे तर अहिले भने निक्कै याद आउँछ । 

 विद्यालयबाट पास भएको लगभग १ वर्ष हुन लाग्यो तर अझ पनि उत्तिकै याद आउँछ । विद्यालयमा बिताएका ती सबै  पलहरू अब कहिले फर्केर आउँदैनन् । विद्यालयमा जस्तो रमाइलो अहिलेसम्म कतै भएको छैन होला । साँच्ची नै विद्यालय जीवन हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण र रमाइलो चरण रहेछ । विद्यालयमा बनाइनेजस्ता सम्झनाहरू अरू कतै बनाउन सकिँदैन होला ।