Logo

Student Corner

परिवर्तनको लहर

Written by: Sandarva Subedi - 21121, Grade XII

Posted on: 14 April, 2021

इतिहासको यथार्थ र सिद्धान्तले अन्धो म बिस्तारै प्रगतिशील पाइला लम्काइरहेछु । क्रान्तिका ज्वाला बर्साउन आतुर मेरा धड्कनहरू सालिन बेगमा चहलपहल गर्दै छन् ।  बाेल्सेभिक्स र अक्टाेबर क्रान्तिमा रमेका मस्तिष्कहरू वर्ग सङ्घर्षको लडाइँ लडिरहेका छन् । सामन्तवादी विचार धाराको मुर्दावादमा उठेका आवाजहरू तीव्र गातिमा लोप हुँदै गएका छन् । भाषणका शब्दहरू निसासिएर भित्री हृदयमा भाँडभैलो मच्चिएको छ । 

मार्क्सवाद-लेनिनवाद सिद्धान्तको कवच भिरेर म स्वयम् जनयुद्धको तयारीमा निस्केको छु र मेरो सम्पूर्ण लगाव, चिन्तन र समर्पण जन्मभूमिप्रति छ । गौतम बुद्धको अस्तित्वमा खोट लगाई सैन्य शक्ति र हात हतियार अभिवृद्धिमा पसेको मेरो मानसिकता लिई विकासको नाटक रचिरहेछु । म आफैँले आफैँलाई सम्यावादीको उपाधि टक्र्याइरहेछु र बन्दुकको आडमा विश्व जित्ने सपना भिरिरहेछु । गुलाम साम्राज्य र पेरु क्रान्ति इतिहासको पुस्तक पिएर मुलुकको श्रमजीवी वर्गको हितमा मेरा अवाजहरू सधैँ बगिरहन्थेँ । म दलाल नोकरचाकरसहितको पुँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनको विरुद्ध आवाजका भालाहरू तेर्स्याउँथेँ । निस्वार्थ भावनामा आफूलाई आघिल्तिर झुकाएर कमरेडको उपनाम टक्र्याई वर्गीय प्रेममा रमेका सिद्धान्तहरू आज मबाट ओझेल परिसकेका छन् । मुलुकको हितका लागि गर्जिने आवाजहरू आज सृष्टिको परिवर्तनमा लोभिइसकेका छन् र एक सृष्टि एक मुलुकको परिकल्पनाले मभित्रको सपुतको विभत्स हत्या गरेको छ । युद्धपश्चातको शान्ति र अमनचयन रुचाउने मेरो मानसिकताविरुद्ध नैतिकता र गरिमाले विद्रोह गरिरहेको क्षण विगत र वर्तमानको यथार्थले मभित्र जङ्ग छेडिएको छ, मभित्रको विगतको ‘म’ को अस्तित्वमा किरा परेको छ । कुहिएको सिनो गनाएझैँ मेरो आदर्श गनाएको आभाषले मलाई जीवनको भयङ्कर गन्तव्य प्रकाश पारिरहेको छ । वर्तमानको सत्यताले रन्थनिएर स्वर्णिम भविष्य प्राप्तिका लागि स्नेह लुटाउने मनोबलको उत्पत्तिले मभित्र परिवर्तनको लक्षण देखा पर्यो जसलाई म झैसम्म स्विकार्न असमर्थ छु । मैले पुरातनवादी सोचलाई नकार्दै प्रयोगात्मक विचारधारालाई जोड दिइरहेको खण्डमा पुरातनवादी सोचमा पनि प्रयोगात्मक विचारधारा हुन्छ भन्ने कुरालाई बिर्सिरहेको थिएँ । म सैद्धान्तिक बाघलाई सत्ताको पिँजडामा कैद गरेर कमरेडको भेष धारण गरिरहेको थिएँ ।  

संसारमा सबैभन्दा ठुलो जित हो जस्तो लाग्थ्यो तर अहिले  पराजय स्वीकार गर्नुमा बढी महानता छ जस्तो लाग्छ । परिवर्तनको बतासले उडाएपछि वर्गीय प्रेमभन्दा वसुधैव कुटुम्बकमतिर ध्यान खिचिएको छ । पुन: कानुनको भन्दा धर्मको त्रासले निरीह भूमिका खेलोस् भन्ने मानसिकताले मेरो मस्तिष्क रङ्गिएकाे छ ।