Logo

Student Corner

पर्यावरणीय चुनौतिहरू र यसका समाधान

Written by: Shritika Pokhrel - 21123, Grade XII

Posted on: 07 April, 2021

आजको दिनसम्म गरेर लगभग चार दिन जति भयो घामको किरण काठमाडौँ नछिरेको । विभिन्न वनजङ्गलमा लागेको आगलागी र धुवाँधुलोको कारण धुम्म परिरहेको यो सहरमा आज मानिसहरू घरबाट बाहिर निस्किन डराइरहेका छन् । कोरोनाको कारण बन्द भएका विद्यालयहरू बल्ल बल्ल त राम्रोसँग सञ्चालन हुन थालेका थिए तर फेरि वातावरणीय समस्याले विद्यार्थीहरू घरमै बस्नु परेको छ । यी यावत् कुराहरू जोड्नुको तात्पर्य भनेकाे हिजो हामीले वनजङ्गलको संरक्षण गरेनौँ र आज त्यसको प्रतिफल हामीले यी यावत् दुख कष्टहरू भोग्नु परेको छ । 

काठमाडौँमा वातावरणको स्वरूप एक्कासि बदलिँदा बच्चाहरू र बुढाबुढीहरूमा घम्भीर असर परेको देखिन्छ । मनलागी गरेर प्रकृति ध्वस्त परियो भने के कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने सानो झलक त हामीले यसैबाट पनि देख्न सक्छौँ । वनजङ्गल विनाश भयो, प्रदूषण बढ्दै गयो भने यस्ता समस्याहरूको हामीले दिनहुँ सामना गर्नुपर्छ र अधिक समयसम्म गर्नुपर्छ । अहिलेको वातावरणीय समस्या त अब १/२ दिन झरी पर्यो भने टर्ला तर यस्तै गरी प्रकृतिको विनाश गरिरहने हो भने आजको यो समस्या भोलि गएर हाम्रो मृत्युको कारण बन्न बेर लाग्दैन । अर्को कुरा भनेकाे अहिले पुरा विश्वमा नै जुन आणविक भट्टीहरूको निर्माण भइरहेको छ, यसले सारा वातावरणलाई प्रदूषित पारिरहेको छ । हाम्रै देशमा पनि विकास निर्माणको निहुँमा वनजङ्गल विनाश भइरहेका छन्, जसले गर्दा अक्सिजनको मात्रा निकै कम भइरहेको छ र यसैका कारण हामीले स्वस्थ वातावरणमा बाँच्न पाउने अवसर समेत पाएका छैनौँ । 

विकासको नाममा विनाश भइरहेको यस्तो अवस्थामा यदि अब पनि वातावरणकाे संरक्षण नगर्ने हो भने हामी मानवका साथसाथै अरू प्राणीको पनि अस्तित्व रहँदैन र आज जुन माहोलमा हामी बाँचिरहेका छौँ, यही माहोल भोलि विश्वभर रहन पनि बेर लाग्दैन । अहिलेकाे सन्दर्भमा भने नेपालले तत्कालै वातावरण प्रदूषित हुनबाट रोक्नुपर्छ र वनजङ्गल सहितको विकासलाई प्राथमिकता दिँदै अघि बढ्नुपर्छ किनकि यसको असर नेपालमा भित्रिन थालिसक्यो । साथै अरू देशहरूले पनि वातावरण संरक्षणमा ध्यान दिनुपर्छ । प्रकृतिमा भएका कुराहरूलाई परिवर्तन गर्ने हैन, यसलाई संरक्षण गर्दै यसको उपभोग गर्न सिक्नुपर्दछ किनभने यदि प्रकृतिको विनाश गरियो भने त्यसको असर मान्छेलाई पर्छ, जसले गर्दा विभिन्न समस्याहरू आइपर्छन् ।

 भनिन्छ नि संसारका हरेक कुराले हामीलाई प्रेरणा दिइरहेका हुन्छन् र केही न केही कुरा सिकाइरहेका हुन्छन् । आज वातावरण प्रदूषित गर्नाले हामीले भोग्नु पर्ने असरका बारेमा प्रकृति स्वयंले हामीलाई सचेत गराएको छ । यो मौसम त १/२ दि न झरी परेपछि ठिक हुन्छ होला तर यदि अझै पनि हामीले वातावरण प्रदूषित गर्न छाडेनौँ भने यसभन्दा घातक  परिस्थितिको सामना गर्नुपर्छ ।