Logo

Student Corner

संविधान

Written by: Aashrab Khanal - 22001, Grade XI

Posted on: 25 March, 2021

संविधान भनेको समग्रमा कुनै पनि राष्ट्रका आधारभूत सिद्धान्तहरू र राष्ट्रका विभिन्न संस्थाहरूलाई कानुनी रूपमा शासन गर्ने प्रणाली हो । संविधान राष्ट्रको मूल कानुन पनि हो । संविधानको काम राष्ट्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु हो । 

संविधानको इतिहास धेरै पुरानो छैन । संयुक्त राज्यको संविधान सबैभन्दा पुरानो लोकतान्त्रिक सक्रिय कोडिफ संविधान हो । संविधानको निर्माण संविधान सभा अथवा अरू कुनै प्रक्रियाबाट हुन्छ । सामन्यतया संविधानमा विभिन्न मूल कुराहरू उल्लिखित हुन्छन्, जस्तै : नागरिकको मूल अधिकार र कर्तव्य, देशको शासन प्रणालीको काम र कर्तव्य, राज्यको प्रमुख, देशको धर्म र परम्पराको विवरण आदि । नेपालको इतिहासमा ७ वटा संविधान  कार्यान्वयन भएका छन् । नेपालको वर्तमान संविधान, नेपालको संविधान २०७२ हो । यो संविधान २०७२, असोज ३  देखि कार्यान्वयनमा आएको हो । यो संविधान २०६३ को अन्तरिम संविधानको ठाउँमा कार्यान्वयन गरिएको हो । याे संविधानमा ३५ भाग ३०८  धारा र ९ अनुसूची छन् । नेपालको इतिहासमा यो जनताको प्रतिनिधिहरूले पारित गरेको पहिलो संविधान हो । एउटा राष्ट्रको लागि संविधान एकदमै आवश्यक हुन्छ । हामीलाई आफ्नो देशमा व्याप्त प्रणालीलाई नियमन गर्न संविधान चाहिन्छ । यसले नागरिकलाई आफ्ना आधारभूत कुराहरू प्रदान गर्छ । संविधानले देशका नागरिकहरूबिच समानताको भावना पैदा गर्दछ र त्यसले देशमा एकता कायम गर्न मद्दत गर्छ । संविधानले शक्ति प्रदान गर्ने एउटा प्रणाली बनाउँछ, जसले गर्दा देशमा लोकतन्त्रको संरक्षण हुन्छ । मुलुकको संविधान भनेको सबै कानुनहरूभन्दा उच्च स्थानमा रहेकाले सरकारले बनाएको कुनै पनि कानुन सम्बन्धित संविधानअनुरूप हुनुपर्छ। संविधानले गर्दा नागरिकहरूले कानुनको पालना गर्छन् । 

संविधान भनेको हरेक राष्ट्रका लागि महत्त्वपूर्ण हुन्छ । संविधानले देशमा विधि पद्धति र विकास ल्याउँछ र नागरिकहरूको जीवन सुधार्छ ।