Logo

Student Corner

कोरोना र यसको असर

Written by: Ashraya Banskota - 21104, Grade XII

Posted on: 24 March, 2021

कोरोनाको प्रकोप नेपालमा २०७६ सालको चैत्रदेखि सुरु भएको थियो । विद्यालय तथा कलेजहरू चैत्र ६ गतेदेखि बन्द भएका थिए ।  एक दुई हप्तासम्म मात्र लकडाउन होला भनेर सोचेका हामी विद्यार्थीहरू र आम जनताहरू पुरै ६ महिनाभन्दा बढी आआफ्ना घरहरूमा बस्यौँ । मेरो विद्यालयले चैत्रको दोस्रो तेस्रो हप्तादेखि पढाइ अनलाइनद्वारा नै सञ्चालन गर्यो । कक्षा ११ को परीक्षा वैशाख २१ देखि सुरु गर्ने भनिए तापनि पछि सर्दा सर्दा अन्त्यमा कलेजले नै परीक्षा लियो ।  

मेरो लकडाउनको अनुभव ठिकै थियो । देशको परिस्थिति हेर्दा डर लाग्थ्यो भने कलेज आउनु पर्दैन भनेर मनमा अलि खुसी पनि हुन्थ्यो ।  तर  २-३ महिना बितेपछि साथीहरूको पनि याद आइराख्थ्यो । कलेजमा भएको भए अलि रमाइलो गरिन्थ्यो जस्तो पनि लाग्थ्यो ।  त्यसको साथै परीक्षा बोर्डले नै लिएको अथवा कोरोना नै नआएको भए अलि बढी पढिन्थ्यो र परिश्रम पनि गरिन्थ्यो जस्तो लाथ्याे । घरमा बस्दै कहिले के हेरिन्थ्यो भने कहिले के । चौबिसै घण्टा ल्यापटपमा बसेकोले सुत्ने बानी पनि फेरिएको थियो । मलाई कोरोनाभन्दा अगाडी १० बजेदेखि १०:३० बजेभित्र निद्रा लाग्थ्यो भने लकडाउनदेखि मेरो सुत्ने तरिका फेरिएकोले ११:३० देखि १२ बजेभित्र मात्र निद्रा लाग्थ्यो ।  यसले गर्दा मलाई अहिले पनि असर परेको छ । अहिले कलेज जानका लागि चाँडै सुतूँ भन्दा पनि निद्रा चाँडै लाग्दैन ।  

कोरोनामा मैले धेरै नै अल्छीपना देखाएकी थिएँ जसले गर्दा मैले त्यो बानी अहिलेसम्म हटाउन सकेकी छैनँ । कोरोनामा शारीरिक व्यायाम नगरेकोले अहिले अलिकति हिँड्दा पनि थकित हुन्छु । पहिले अलि ऊर्जावान् थिएँ भने अहिले त अल्छीको पनि हद पार गरिसकेँ जस्तो लाग्छ ।  कोरोनाका दिनहरूमा अधिकांश समयमा म जङ्क फुड नै खाएर बस्थेँ । खाना खाएपछि गुलियाे खाने, खाजामा पनि चिप्सहरू खानुपर्ने बानी भएको थियो जुन अहिलेसम्म गएको छैन । कुल मिलाएर भन्दाखेरि मैले खासै धेरै कुराहरू गरिनँ तर बानीचाहिँ बिग्र्यो । अब त्यसलाई सुधार्ने भने पनि भोलिदेखि गर्छु भनेर म जहिले ढिलाइ गर्छु ।  

अत: कोरोनाले देशलाई मात्र नभई आम जनताहरूलाई पनि ठुलो असर गरेको छ । माथि मैले मेरो अनुभवको मात्र कुरा गरेको छु तर देशमा दुनियाँमा कतिपय मानिसहरू भोकमरीकाे सिकार भएका छन् भने कतिपय भाडामा बस्ने मानिसहरूले पैसाको कमीले घर छोड्नु परेकाे पनि छ । त्यसैले कोरोनामा राम्ररी बस्न सकेकोमै म भगवान्‌प्रति त आभारी छु नै साथै आफ्ना आमाबुवाप्रति पनि एकदमै आभारी छु । यसैगरी अरूहरू जसले लकडाउनमा धेरै भोगेनन्, उनीहरू पनि आभारी नै हुनुपर्छ जस्तो मलाई लाग्छ ।