Logo

Student Corner

सबैभन्दा राम्रो साथी

Written by: Samip Adhikari - 21119, Grade XII

Posted on: 21 March, 2021

एउटा यस्तो साथी होस् जसले जुनै अवस्थामा पनि साथ देओस्, कहिले छोडेर नजाओस् र धेरै माया गरोस् । सायद यो सबैको इच्छा हुन्छ तर यस्तो साथी पाउन धेरै गाह्राे हुन्छ । हामीले जीवनमा धेरै मान्छेहरू भेट्छौँ तर ती सबै सबै साथी हुँदैनन् । भाग्यमानी हुन्छन् ती मानिस जसले एउटा असल साथी पाउँछन् । मित्रता सायद सबैभन्दा ठुलो आशीर्वाद हुनुपर्छ किनकि यसले जीवनमा धेरै असहज परिस्थितिलाई पनि सजिलो बनाइदिन्छ । भनिन्छ नि एउटा लट्ठीलाई भाँच्न जति सजिलो हुन्छ, त्यति सजिलो एकभन्दा धेरै लट्ठीलाई भाँच्नमा हुँदैन । वास्तवमै भन्नु पर्दा मित्रता एउटा शक्ति पनि हो, जसले हामीलाई कहिल्यै झुक्न दिँदैन ।

यसका अतिरिक्त हाम्रा धेरै साथीहरू हुन सक्छन् तर ती भिडहरूमा एउटा त्यस्तो साथी पनि हुन्छ जसले हाम्रो मनको कुनामा एउटा छुट्टै स्थान पाएको हुन्छ, जसलाई हामीले चाहेर पनि बिर्सन सक्दैनौँ, जसले हामीलाई एउटा खराब मान्छेबाट राम्रो मान्छे बनाएको हुन्छ, जसले हाम्रो हरेक सुख दुखका कुराहरू सुनेको हुन्छ, जसले कहिले केही लिन नजानेर धेरै दिएर मात्र गयो, जसका लागि हामी दिनरात नभनी मेहेनत गर्छाैँ, जसले गर्दा त्यो सबैभन्दा मिल्ने साथीलाई हामी एक दिन गर्व महसुस गराउन सकाैँ । त्यही नै असल र सबैभन्दा धेरै मिल्ने साथी हो जो टाढा भए पनि सधैँ हाम्रो मनको नजिक हुन्छ ।

सायद त्यस्तो सबैभन्दा राम्रो साथी तपाईंको पनि हुन सक्छ । यदि छैन भने पनि त्यो एउटा दिन आउने छ जब तपाईंले त्यस्तो साथीको पहिचान गर्नुहुने छ । तर यदि तपाईंको जीवनमा त्यस्तो सबैभन्दा राम्रो तपाईंलाई मन पर्ने साथी थियो तर अहिले यदि त्यो मान्छे तपाईंसँग छैन भने त्यसको मतलब यो होइन कि त्यो मान्छेले तपाईंलाई छोडेर गएको छ, त्यो मान्छे सधैँ तपाईंको यादमा र श्रद्धाका साथ मनमा सधैँ छ जसले तपाईंलाई जीवनभर मार्गदर्शक भएर बाटो देखाउने छ । यत्ति गर्नुस् कि त्यो साथीलाई कहिले नबिर्सनुस् जसले तपाईंलाई अझै बिर्सेको छैन ।