Logo

Student Corner

अन्तर्राष्ट्रिय महिला दिवस

Written by: Riya Jha - 21134, Grade XII

Posted on: 17 March, 2021

अन्तर्राष्ट्रिय महिला दिवस विश्वमा मार्च ८ मा मनाइन्छ । सन् १९११ मा पहिलो पटक महिला दिवस मनाइएको थियो । याे दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार क्लारा जेटकिन नाम गरेकी महिलाबाट आएको थियो । उनले उक्त विचार सन् १९१० मा कोपेनहेगनमा आयाेजित महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त गरिन् । त्यहाँ १७ देशका १०० महिलाहरूले उनको सुझावमा सर्वसम्मतिमा सहमति जनाए । सन् १९०८ मा  न्युयोर्कका  १५,००० महिलाहरू कम  घण्टाकाे काम, राम्रो तलब र भोट दिने अधिकारको लागि सडकमा आन्दोलन गर्न पुगे । त्यसपछि अमेरिकाको सोसलिस्ट पार्टीले एक वर्षपछि पहिलो राष्ट्रिय महिला दिवस घोषणा गर्‍यो ।

त्यसपछिको साल मार्च १९, १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डका लाखौँ  मानिसहरूले पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाए । अस्ट्रिया, हङ्गेरीजस्ता देशहरूमा  ३०० भन्दा बढी  प्रदर्शनहरू भए । भियनामा महिलाहरूले रिङ्गस्ट्रेसीमा परेड गर्दा पेरिस कम्युनका सहिदहरूको सम्मानमा अनेक नारा लगाए । महिलाहरूले उनीहरूलाई भोट दिने र सार्वजनिक पद धारण गर्ने अधिकार दिइनुपर्ने माग गरे । उनीहरूले रोजगारीमा लैङ्गिक भेदभावको विरोध पनि गरे । अमेरिकीहरूले फेब्रुअरीमा अन्तिम आइतबार राष्ट्रिय महिला दिवस मनाउन जारी राखे । सन् १९१३ मा रूसी महिलाहरूले फेब्रुअरीमा अन्तिम शनिबार पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाए । अन्तर्राष्ट्रिय महिला दिवस यति समयसम्म मनाउँदा पनि अहिलेसम्म नारीले आफ्ना हक र अधिकार पाउन सकेका छैनन् । आफ्नो जीवन सम्बन्धित निर्णय गर्न पनि अरूमाथि भर गर्नु पर्ने स्थिति जताततै छ । हाम्रै देश नेपालमा ४० वर्षभन्दा कम उमेरका नारीहरूले देशबाहिर जानलाई पनि परिवारको अनुमतिका साथै वडा अध्यक्षबाट सिफारिस लिनुपर्ने नियम भएको कुरा त हामीलाई अवगत नै छ । यति मात्र होइन एक परिवारमा छाेरी जन्मिनु भनेको दुर्भाग्यको कुरा भएको कुरा यो समाजले ठान्दछ । अनेकौँ देशमा विविध किसिमका अत्याचार सहनु पर्ने एक नारीको जीवन अनेकौँ कठिनाइहरूले घेरिएको हुन्छ तर यति कठिन परिस्थितिमा पनि उनी आफ्नो अनुहारमा एक सहज हाँसो लिएर सबैभन्दा अगाडि आफ्नो परिवारलाई राखेर अघि बढ्छिन् । नारीकाे यही साहसलाई सम्मान गर्न संसारले यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गर्छ । चीनमा मार्चमा महिलालाई आधा दिनको छुट्टी दिइन्छ तर स्टेट काउन्सिलले भनेझैँ धेरै नियोक्ताहरूले आधा दिन बिदा आफ्ना महिला कर्मचारीहरूलाई दिँदैनन् । इटालीमा अन्तर्राष्ट्रिय महिला दिवस मिमोसा ब्लासम (एक प्रकारको फूल ) दिएर मनाइन्छ । याे परम्पराको मूल अस्पष्ट छ तर यो रोममा दोस्रो विश्वयुद्धपछि सुरू भएको हो भन्ने विश्वास गरिन्छ । अमेरिकामा मार्च महिना महिला इतिहासकाे महिना हो । याे अवसरमा  महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरू मनाइन्छन् । प्रत्येक वर्ष जारी राष्ट्रपतिकाे घोषणाले अमेरिकी महिलाहरूको उपलब्धिहरूलाई सम्मान गर्दछ । महिलाहरू उपलब्धिहरू मनाउन वा महिला समानताको लागि जुलुसको रूपमा समूहहरूमा भेला हुँदा महत्त्वपूर्ण गतिविधि विश्वव्यापी रूपमा देखिन्छ ।

आजसम्म अन्तर्राष्ट्रिय महिला दिवसको आवश्यकता संसारमा देखिन्छ किनभने अहिलेसम्म समाजमा लैङ्गिक समानता नदेखिएको पाइन्छ । यस्ता अवसरमा देश विदेशका महिला एक जुट भई आफ्ना हक अधिकारका लागि लड्ने गर्छन्, यसर्थ हामी पनि यो दिवसलाई नारीको सम्मानमा मनाऔँ ।