Logo

Student Corner

पुस्तक समीक्षा: उपन्यास "छाउघर" को पुस्तक समीक्षा

Written by: Simon Sangat - 22019, Grade XI

Posted on: 14 March, 2021

"छाउघर" राज सरगमद्वारा लिखित गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार विजेता उपन्यास हो । याे उपन्यासमा ग्रामीण क्षेत्रको परिवेश देखिन्छ । मानिसको सोच धेरै निम्न छ र चेतनाको कमीका कारण महिलाले दु:ख भोग्नुपरेको देखिन्छ । याे उपन्यासका प्रमुख पात्रहरू कला, राम, हरि, कलाकी इजा र भागीरथी दिदी हुन् भने सहायक पात्र बजै, बाजे, कलाको भाइ, फुपू, भरत काका र रूपा भाउजू हुन् । 

विद्यालयबाट घर फर्कँदै गर्दा कलाले जाँघ भिजेको महसुस गर्छिन् । जामा माथि सारेर हेर्दा उनी आत्तिन्छिन् र घरतिर दौडिन्छिन् । आफूलाई के भएको हो भन्ने थाहा नपाउँदै इजाले उनलाई बारीको पछाडिको सुनसान छाप्रामा पुर्याउँछिन् । त्यतिबेला मानिसमा चेतनाकाे विकास नभएकाले त्यहाँका मान्छेहरू छाउलाई मासिक श्राप मन्ने गर्थे र पहिलाे पटक छाउ हुँदा बाइस दिन छाउगोठमा  बिताउनुपर्थ्यो । यस्तो कुप्रथाको सामना गर्दै कलाले बाइस रात डरको सामना गर्दै आफूलाई त्यही छाउगोठमा लुकाएर राख्छिन् । त्यहाँ उनले धेरै कुरा सिक्छिन् । बाजेको देउता, भागीरथी दिदीको प्रेम, महादेवको सर्प, रूपा भाउजूको जत्कल र एक्लोपनले त्यो छाउघरमा उनलाई समाजका बारेमा धेरै कुरा सिकाउँछन् । त्यो छाउगोठमा बाइस दिन बिताउँदा उनले धेरै कुरा देख्छिन् र अनुभव पनि गर्छिन् । 

कलाले छाउका पौराणिक र वैज्ञानिक आधार अनि कुप्रथा र अन्धविश्वासबारे थाहा पाउँछिन् । अन्तत: परम्परासँग विद्रोह गर्छिन् र आखिरमा कला घर छोडेर जान बाध्य हुन्छिन् । कला घर छोडेर भाग्नु एक हिसाबले सही पनि थियो र गलत पनि । त्यो परिस्थितिले कलालाई घरबाट भाग्न बाध्य बनाएको थियो । १२ वर्षकी बच्चामा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दु:खको सामना गर्दै छाउगोठमा बाइस रात काट्ने कलाको कथा हो 'छाउघर' ।