Logo

Student Corner

शिवरात्रिः एक विशेष पर्व

Written by: Aashutosh Pudasaini - 22002, Grade XI

Posted on: 09 March, 2021

हिन्दूहरूका आराध्य देव महादेवको पूजा अर्चना गरेर शिवरात्रि पर्व मनाउने गरिन्छ । याे चाडलाई शिवको विशेष दिनका रूपमा लिने गरिएको छ । हरेक वर्ष फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा शिवरात्रि पर्व मनाउने गरिन्छ । यो पौराणिक पर्वलाई परम्परादेखि नै मनाइँदै आएको छ । यसको सुरुवात कहिलेदेखि भयो भन्ने कुनै ठोस प्रमाण भने भेटिएको छैन । यस दिनमा शिवले समुद्र मन्थनबाट आएको विष पिएका थिए भन्ने जनविश्वास रहेकाे छ । नेपालमा पनि यो चाडलाई विशेष रूपमा लिने गरिएको छ । यो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । 

शिवरात्रिको दिनमा नेपालका पशुपतिनाथको मन्दिरलगायत देशभरिका शिवमन्दिरहरूमा पूजाका लागि भक्तजनहरूको भिड लाग्ने गरेको छ । यो विशेष दिनमा पशुपतिनाथको दर्शनका लागि नेपालबाट मात्र नभएर छिमेकी देश भारतबाट समेत लाखौँ भक्तजन पशुपतिनाथको दर्शनका लागि आउने गरेका छन् । शिवधुनी जगाएर रातभर जाग्राम बसेर पनि शिवको पूजा आराधना गर्ने गरिएको पाइन्छ । 

यही दिनलाई नेपालमा सैनिक दिवशका रूपमा पनि मनाइँदै आएको छ । सैनिकहरूले आफ्ना विभिन्न कौशलहरूलाई सैनिक मञ्च टुँडीखेलमा प्रदर्शन पनि गर्ने गरेका छन् । जुन कार्यक्रममा नेपालका विशिष्ट पदाधिकारीहरूको पनि उपस्थिति रहने गरेको छ । 

शिवरात्रिको बेलामा युवाहरू भेला हुने, गाँजाभाङलगायतका नशालु पदार्थ सेवन गर्ने प्रचलन पनि पछिल्लो समय बढिरहेको देखिन्छ जुन राम्रो होइन । शिव भगवान्‌को यो विशेष पर्वलाई शिवको सम्झनामा सफा मनले मनाउनु जरुरी छ ।